arrow

पत्रकार महासङ्घको स्थापना दिवस : बिरामीलाई फलफूल वितरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १६ बुधबार
fnj-syanha.PNG

स्याङ्जा । नेपाल पत्रकार महासङ्घको ६७ औं स्थापना दिवसको अवसरमा फलफूल वितरण गरिएको छ । महासङ्घको स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ स्याङ्जाले जिल्लाका विभिन्न अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरेको हो । 

पत्रकार महासङ्घ स्याङ्जा शाखाले जिल्ला अस्पताल स्याङ्जा, वालिङ नगर अस्पताल, चापाकोट नगर अस्पताल र गल्याङ नगर अस्पतालमा उपचारार्थ रहेका बिरामीलाई फलफूल वितरण गरेर स्थापना दिवस मनाएको महासङ्घ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले जानकारी दिए । 

हरेक वर्ष चैत्र १६ गते पत्रकार महासङ्घले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ । यो वर्ष स्याङ्जा शाखाले अस्पतालका बिरामीलाई स्वास्थ्य लाभको कामना गर्दै फलफूल दिएर स्थापना दिवस मनाइएको शाखाका अध्यक्ष सिग्देलले बताए । 

स्याङ्जा शाखाले जिल्ला सदरमुकाममा उपाध्यक्ष भवानी अधिकारी, चापाकोटमा जिल्ला सदस्य रामु भट्टराई, गल्याङमा गण्डकी प्रदेश प्रतिनिधि हिमाल न्यौपाने र वालिङमा शाखाका अध्यक्ष सिग्देलको नेतृत्वमा फलफूल वितरण कार्य सम्पन्न गरिएको जनाएको छ । 

मुलुकका हरेक परिवर्तनमा पत्रकार महासङ्घले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै स्याङ्जा शाखाका अध्यक्ष सिग्देलले पत्रकारहरूका लागि आएको श्रमजीवी पत्रकार ऐन लामो समय देखी कार्यान्वयन नहुनु दुखद रहेको बताए । 

पत्रकारहरूलाई नियन्त्रित गर्ने गरी आउन लागेको सञ्चार ऐन विचाराधीन अवस्थामा रहे पनि पत्रकारमैत्री ऐन ल्याउन सिग्देलले सरकार सँग माग गरे । मुलुकका हरेक सङ्कटमा पत्रकारहरूले खेलेको भूमिकाले नागरिकमा सचेतना जगाएको दावी गर्दै अध्यक्ष सिग्देलले कोरोना सङ्क्रमणका बेला जोखिम मोलेर नागरिकको आवाजलाई सरकारका तिनै तह समक्ष पुर्‍याउने गतिलो उदाहरण भएको बताए । 

राजनीति भन्दा माथि उठेर समाजमा लुकेका र लुकाइएका विषयवस्तुको उठानमा नेपाली पत्रकारहरू लाग्न यो स्थापना दिवसले सबैलाई ऊर्जाशील बनाउने छ भन्दै अध्यक्ष सिग्देलले शुभकामना व्यक्त गरे । 

स्याङ्जाका चार पालिकामा रहेका स्थानीय अस्पतालमा सक्रिय भूमिका सहित सहभागिता जनाएर पत्रकार महासङ्घको ६७ औं स्थापना दिवस मनाएकोमा स्याङजावासी सबै पत्रकारहरूलाई अध्यक्ष सिग्देलले धन्यवाद समेत दिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ