arrow

कांग्रेस र एमाले छुट्टाछुट्टै सवार डुङ्गामा खुट्टा टेक्दै माओवादी केन्द्र

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १९ शनिबार
congress-uml-maoabdi-united.jpg

काठमाडौं । नेपाली कांग्रेस सहितको सत्तागठबन्धमा रहेको नेकपा माओवादी केन्द्रका नेताहरु प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेताहरुसँग निरन्तर संवादमा रहेका छन् । नेकपा माओवादीका पूर्व स्थायी समिति सदस्य वर्षमान पुनको संयोजनमा दोस्रो पुस्ताका नेताहरु निरन्तर संवादमा रहेका हुन् । 

उनले एक पटक एमालेका उपाध्यक्षदेखि सबै नेताहरुसँग भेटघाट गरिसकेको स्रोतको दाबी छ । ‘एमालेका नेताहरुसँग हामी निरन्तर संवाद गरिरहेका छौंं, हाम्रो संवादमा एमालेका नेताहरुले सकारात्मक जवाफ दिएका छन् । मूलतः कम्युनिष्ट पार्टीको मतलाई कसरी जोगाउने भन्ने बारेमा निरन्तर संवादमा मात्रै भएको छैन बहस छलफल सकारात्मक ढंगले अघि बढेको छ’ माओवादीका एक उच्च नेताले भने । 

उनका अनुसार यतिबेला जिल्ला तहका नेताहरुले स्थानीय तहमै कम्युनिष्ट पार्टीको मत जोगाउनेबारे छलफल गरिरहेको छ । ‘माओवादीका केन्द्रीय नेताहरुको नेतृत्वमा यसबारे छलफल चलेको छ’, उच्च स्रोतले भन्यो । 

स्थानीय तहमा माओवादीका नेताहरुले एमालेसँगै मिलेर जान खोजिरहेका छन् । तर एमालेले गाउँपालिका वा नगरपालिकामा माओवादीलाई वडा अध्यक्ष दिएर अध्यक्षचाहिँ आफैँले लिने र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग लिने रणनीति अख्तियार गरिरहेको छ । 

‘एमालेसँग सकेसम्म प्रत्यक्ष अप्रत्यक्ष सहकार्य हुने सम्भावना रहेको छ’, माओवादीका उच्च नेताको भनाइ छ । 

केही दिनअघि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र माओवादीका नेता वर्षमान पुन चीन पुगेका थिए । पौडेल भने चिनियान् विदेशमन्त्रीको नेपाल भ्रमणको बेला स्वदेश आइपुगेका थिए । उनीहरु चीन जानुअघि नै माओवादीले सहकार्यको प्रस्ताव गरेको थियो । 

एमालेका दोस्रो तहका नेताहरु यसमा सहमत भए पनि एमाले अध्यक्ष केपी शर्मा ओली भने सकारात्मक बनेका थिएनन् । अहिले ओलीले पनि कुरा अघि बढाउन संकेत गरेको स्रोतको दाबी छ । 

‘स्थानीय तहमा जोसँग मिल्न सकिन्छ उसैसँग मिल्नु भन्ने निर्देशन गइसकेको छ’, एमालेका एक नेताले भने । 

यसअघि संसदबाट मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी पास गर्ने बेलामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैँ ओलीसँग सहकार्यको प्रस्ताव लिएर संसदीय दलको कार्यालयमा गएका थिए । 

एमसीसी परियोजनाका कारण सत्ता गठबन्धन टुट्ने निश्चित भएसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदीय दलको कार्यालयमा सो प्रस्ताव राखेका थिए । 

तर ओलीले नेकपाकालमा आफूमाथि लगाइएको आरोप फिर्ता लिनुपर्ने, माफी माग्नुपर्ने भनेपछि प्रचण्ड निराश बनेर फर्केका थिए । 

अहिले स्थानीय तहको निर्वाचनमा कांग्रेसका नेता कार्यकर्ताहरुले सहयोग गर्ने अवस्था नदेखिएपछि माओवादीका नेताहरु एमालेका नेताहरुको सम्पर्कमा रहेको र वार्ता गरिरहेको स्रोतको दाबी छ ।

तर सत्ता गठबन्धन दलहरुले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन गरेर जाने निर्णय गरेका छन् । गठबन्धनको निर्णयअघि कांग्रेसले औचित्य र आवश्यकताका आधारमा स्थानीय तहमा गठबन्धन गर्न सकिने निर्णय गरेको थियो । 

यसअघि माओवादी र नेकपा एकीकृत समाजवादीले कांग्रेसप्रति आशंका जन्माएको थियो । तर कांग्रेसले गठबन्धन गर्न सकिने निर्णय गरिसकेपछि पनि माओवादीका नेताहरु भने एमालेसँग चुनावी तालमेलको प्रयासमा लागेपछि भने सशंकित हुनुपर्ने देखिएको छ । 

कांग्रेसले गठबन्धन गर्न सकिने भनेकै अर्को दिन प्रचण्ड खुशीले गद्गद् भएर चितवन पुगेका थिए । त्यहाँ भरतपुर महानगरपालिकामा पुनः माओवादी मेयरमा लड्ने उनले बताए । अर्थात् उनकै पुत्री रेणु दाहाल मेयर बन्ने निश्चित गरेर उनी फर्के । 

तर दुवै हातमा लड्डु खान खोज्ने माओवादीको यो हर्कत कायमै रहने हो भने यसअघि नै पीडा खेपिसकेका कांग्रेस र एमालेले मिलेरै पछार्न खोज्ने हो भने स्थिति कहाँ पुग्ला भन्ने विश्लेषणसमेत माओवादीले गर्न नसक्ने अवस्थामा पुग्ने कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन् । 
 



नयाँ