arrow

अविश्वासको प्रस्तावमाथि मतदान

इमरान खानको ‘सन्डे सरप्राइज’ खतरनाक हुन सक्ने, निष्पक्ष खेल भए पभेलियन फर्किने

३४२ सांसदहरुको संख्यामा इमरान खानको साथमा १४२ सांसदमात्र

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २० आइतबार
imran-khan-pak.jpeg
तस्बिर– फाइल

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आज मतदान हुँदैछ । पाकिस्तानको तल्लो सदन नेसनल एसेम्ब्लीमा मतदान हुन लागेको हो । 

उनीविरुद्ध  ल्याइएको अविश्वासको प्रस्ताव पारित भएमा खान स्वतः पदमुक्त हुनेछन् । ३४२ सदस्य रहेको सदनमा गत साता खानको पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) ले बहुमत गुमाएको थियो । 

गठबन्धनका केही सांसदहरु सरकारको विपक्षमा उभिएका थिए । त्यस्तै पीटीआईकै सांसदहरूले पनि खानविरुद्ध विद्रोह गरेका थिए । 

पाकिस्तानी पूर्व क्रिकेट कप्तान खानले क्रिकेटकै भाषामा पदबाट राजीनामा नदिने बरु ‘अन्तिम बलसम्म’ संघर्ष गरिरहने बताएका थिए । उनले आफूलाई हटाउन देशबाहिर षडयन्त्र रचिएको दाबी गर्दै शान्तिपूर्ण विरोध गर्न आफ्ना समर्थकहरूलाई सडकमा आउन अपील गर्दै आएका छन् । 

पाकिस्तानको तीतो यथार्थ भनेको अहिलेसम्म कुनै पनि पाकिस्तानी प्रधानमन्त्रीले पूर्ण कार्यकाल पूरा गरेका छैनन् । 

खान पदमुक्त भएमा पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ सेहबाज सरिफ प्रधानमन्त्री बन्ने अनुमान गरिएको छ । 

पाकिस्तानी संसदको अंकगणितअनुसार कुल ३४२ सांसदहरुको संख्यामा इमरान खानको साथमा १४२ सांसदमात्र छन् । विपक्षीको साथमा १९९ सांसद छन् । 

बहुमतका लागि १७२ सांसद भए पुग्छ । यो अर्थमा इमरानको कुर्सी खतरामा छ । आज हिंसाको आशंकासमेत गरिएको छ । अविश्वास प्रस्तावमा भोटिङ हुनुअघि इस्लामाबादमा तमाम सुरक्षा संयन्त्रलई अलर्ट राखिएको छ । 

करिब तीन हजार सुरक्षाकर्मी संसद भवन आसपास तैनाथ रहेका छन् । 

अविश्वास प्रस्तावअघि केही गडबडीसमेत हुन सक्ने आंकलन गरिएको छ । जसमा खानले ‘सन्डे सरप्राइज’ भन्दै आएका छन् । 

यो सरप्राइज अन्तर्गत उनले विपक्षी दलका नेताहरुलाई गिरफ्तार गर्न सक्ने आंकलन पनि भइरहेको छ । 

उनीहरुमाथि देशद्रोहको मुद्दा चलाउनेसमेत तयारी भएको विभिन्न सूत्रहरुलाई उधृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले लेखेका छन् । 

आज अविश्वासको प्रस्तावमाथि चर्चा, सभामुखले चाहेका खण्डमा मात्रै भोटिङ र इस्लामाबादमा इमरान खानको र्याली हुने सम्भावना पनि देखिएको छ । 

आफूविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमाथि मतदान हुने ठिक एक दिनअघि खानले शनिबार आफ्ना समर्थकहरुलाई सडकमा उत्रिन आह्वान गरेका थिए । खानमाथि देशमा आर्थिक संकट निम्त्याएको विपक्षीले आरोप लगाउँदै आएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ