arrow

इमरानको पार्टीले विरोधको आह्वान गरेपछि पाकिस्तान प्रहरीले दियो कारबाहीको धम्की

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २९ सोमबार
pti-pakistan-election-2024.jpg

काठमाडौँ । कारागारमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीले गत साताको निर्वाचनमा कथित धाँधलीको विरोध गर्न समर्थकहरूलाई आग्रह गरेपछि पाकिस्तान प्रहरीले आइतबार गैरकानूनी जमघटमाथि कडा कारवाही गर्ने चेतावनी दिएको छ । 

सेना समर्थित पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) को सत्तारूढ बहुमत जित्ने सम्भावनालाई समाप्त पार्दै खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) पार्टीसँग जोडिएका स्वतन्त्र उम्मेदवारहरूले निर्वाचनमा सबैभन्दा धेरै सिट हासिल गरेका छन् । 

यद्यपि स्वतन्त्रहरूले सरकार बनाउन सक्तैनन् । प्रतिद्वन्द्वी दलहरू सम्भावित गठबन्धनका लागि छलफल गर्दा मुलुकले धेरै सातासम्म राजनीतिक अनिश्चितताको सामना गर्नसक्छ । 

पिटिआई नेताहरूले मतदानमा धाँधली नभएको भए अझ धेरै सिट जित्ने दावी गरेका छन् । राष्ट्रव्यापी निर्वाचनको दिन मोबाइल टेलिफोन सेवा बन्द र नतिजाहरूको ढिलो गणनाले सैन्य प्रतिष्ठानले पिएमएल–एनको सफलता सुनिश्चित गर्न प्रक्रियालाई प्रभाव पारेको सन्देह उत्पन्न भएको छ । 

पिटिआईका अध्यक्ष गोहर अली खानले शनिबार पत्रकार सम्मेलनमा भने, “पाकिस्तानको सम्पूर्ण निर्वाचनमा सूक्ष्म तरिकाले हेरफेर गरिएको थियो ।” उनले समर्थकहरूसँग आइतबार ‘शान्तिपूर्वक विरोध’ गर्न आह्वान गरे ।

अधिकारीहरूले तथाकथित धारा १४४ आदेशअनुसार कडा कारवाही गर्ने चेतावनी दिएका छन् । औपनिवेशिक युगको उक्त कानूनअन्तर्गत दुई वा दुईभन्दा धेरै व्यक्ति भेला हुन प्रतिबन्ध लगाइएको छ । 

“केही व्यक्तिले निर्वाचन आयोग र अन्य सरकारी कार्यालयहरूमा गैरकानूनी जमघटका लागि उक्साइरहेका छन्”, इस्लामाबादको प्रहरी बलका तर्फबाट आइतबार जारी विज्ञप्तिमा भनिएको छ, “गैरकानूनी भेलाहरूविरुद्ध कानूनी कारवाही गरिनेछ, भेलाहरूका लागि अनुरोध गर्नु पनि अपराध हो भन्नेतर्फ ध्यान दिनुपर्छ ।”

यस्तै प्रकारको चेतावनी रावलपिन्डीमा पनि जारी गरिएको थियो । लाहोरमा लिबर्टी मार्केट नजिकै दङ्गा गियरले सुसज्जित दर्जनौँ प्रहरी एकत्रित भएको देखेको एएफपीका संवाददाताहरूले देखेका थिए । 

खानको पार्टीले एक महिना लामो कारवाहीलाई अस्वीकार गरेको छ । उक्त कारवाहीले निर्वाचन प्रचारलाई अपाङ्ग बनाएको थियो र उम्मेदवारहरूलाई बिहीबार मतदानमा विजयी हुनका लागि स्वतन्त्ररूपमा निर्वाचन लड्न बाध्य बनाएको थियो 

अन्तिम नतिजा आइतबार घोषणा गरिएको छ । घोषित परिणामअनुसार स्वतन्त्र उम्मेदवारहरूले एक सय एक सिट, पिएमएल–एनले ७५, पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) ले ५४ र मुत्ताहिदा कौमी मुभमेन्ट (एमक्युएम) ले १७ सिट जितेका छन् । साना १० पार्टीले बाँकी १७ सिटमा विजय हासिल गरेका छन् भने दुई सिट रिक्त रहेको छ । 

“नतिजाहरूले कुनै पनि पार्टीसँग सरकार गठन गर्नका लागि साधारण बहुमत नभएको स्पष्ट सङ्केत दिएको छ”, राजनीतिक विश्लेषक तथा लेखक जाहिद हुसेनले भने, “यो विन्दुबाट मुलुकको राजनीतिक भविष्य अत्यन्तै अनिश्चित छ ।”

तर पनि पिटिआईका नेताहरूले उनीहरूलाई आगामी सरकार बनाउनका लागि ‘जनताको जनादेश’ दिइएको दाबी गरेका छन् । पिटिआईका अध्यक्ष खानले अरब न्युजलाई दिनुभएको अन्तरवार्तामा भने, “जनताले इमरान खानको पक्षमा निर्णय गरेका छन् ।”

सन् २०२२ अप्रिलमा अविश्वासको मतबाट खानलाई सत्ताबाट हटाएपछि अन्तिम सरकार बनाएका पिएमएल–एन र पिपिपीबीचको गठबन्धन अझै पनि सबैभन्दा सम्भावित परिणाम देखिन्छ । 

मुलुकका सैन्य प्रमुखले परस्पर विरोधी राजनीतिज्ञहरूलाई ‘परिपक्वता र एकता’ प्रदर्शन गर्न भन्नुभएको छ । जनरल सैयद असिम मुनिरले शनिबार जारी एक विज्ञप्तिमा भने, “मुलुकलाई अराजकता र ध्रुवीकरणको राजनीतिबाट अगाडि बढ्न स्थिर हात र उपचारात्मक स्पर्शको आवश्यकता छ, अराजकता र ध्रुवीकरणको राजनीति २५ करोड जनताको प्रगतिशील मुलुकका लागि उपयुक्त होइन ।”

पाकिस्तानको राजनीतिक परिदृश्यमाथि सेनाको दबदबा छ । सन् १९४७ मा भारतबाट विभाजन भएयता करिब आधा इतिहासमा जनरलहरूले मुलुक चलाएका छन् । 

तीन पटकका प्रधानमन्त्री नवाज शरिफले स्थापना गरेको सैन्य समर्थित पिएमएल–एनले सबैभन्दा धेरै सिट भएको पार्टीका रूपमा जितको घोषणा गरेको छ तर सरकार बनाउनका लागि उक्त पार्टी प्रतिद्वन्द्वी तथा स्वतन्त्र उम्मेदवारहरूसँग सम्झौता गर्न बाध्य हुनुपर्नेछ । 

मतदानको अघिल्लो दिन धेरै लामो कारगार सजाय भोगेपछि खानलाई निर्वाचनमा उम्मेदवार दिन रोक लगाइएको थियो । अपदस्थ भएपछि आफूमाथि लगाइएका करिब दुई सय मुद्दामध्ये यसै महिनाको सुरुमा उनलाई देशद्रोह, भ्रष्टाचार र गैर–इस्लामिक विवाह गरेको तीनवटा अलग–अलग मुद्दामा दोषी ठहर गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ