arrow

इमरानद्वारा पाकिस्तानको संसद् विघटन गर्न सिफारिस

logo
एएफपी,
प्रकाशित २०७८ चैत २० आइतबार
imran-khan-pak.jpeg

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटन गर्न सिफारिस गरेका छन् । उनले संसद्‌मा आफू विरुद्धको अविश्वास प्रस्ताव पेश गर्न उपसभामुखले अस्वीकार गरेको केही बेरमै संसद् विघटनको सिफारिस गरेका हुन् ।  

सञ्चार माध्यमसँगको कुराकानीका क्रममा उनले आफूले संसद् विघटन गर्न लागेको र त्यसको प्रक्रियाका लागि राष्ट्रपति समक्ष सिफारिस गरिसकेको जानकारी दिए । उनले संसद् विघटन गर्दै नयाँ संसद् गठनका लागि निर्वाचन गर्न समेत सिफारिस गरिएको बताए ।

विपक्षी दलहरूले काम गर्न नदिएकाले अहिलेको संसद् विघटन गरेर निर्वाचनमा जान लागिएको उनले स्पष्ट पारे । पाकिस्तानमा लामो समयदेखि विपक्षी दलहरूले प्रधानमन्त्री खान र उन नेतृत्वको सरकार विरुद्ध आन्दोलन गर्दै आएका थिए ।

राष्ट्रका नाममा सम्बोधन गर्दै उनले निर्वाचनका लागि तयारी अवस्थामा रहन आम नागरिकलाई आह्वान पनि गरेका छन् । उनले यसअघि शनिबार राष्ट्रिय सभामा अविश्वासको प्रस्तावमाथि मतदान हुनु अगाडि राष्ट्रव्यापी विरोधमा उत्रन आग्रह गरेका थिए ।

विपक्षले आफु विरुद्ध गरेको अविश्वास प्रस्तावको विरोध गर्दै उनले यसलाई देशमाथि गरिएको ‘धोका’ को सज्ञा दिएका थिए । उनले पाकिस्तानका युवालाई बाह्य शक्तिहरूले गरेको षड्यन्त्रविरुद्ध आन्दोलन गर्न र आवाज उठाउन भन्दै आफू अन्तिमसम्म सत्यको पक्षमा लडिरहने बताएका छन् ।

खानले प्रतिपक्षी दलका नेताहरूले आफूहरूविरुद्ध लगाएका आरोपलाई जनमतद्वारा खारेज गरिदिने चेतावनी पनि दिएका छन् । खानमाथिको अविश्वासको प्रस्तावमाथि आइतबार संसद्मा छलफल हुने कार्यक्रम तय भएको थियो ।

उनले आफ्नो ज्यान जोखिममा रहेको र विपक्षीले चरित्र हत्या गरिरहेको आरोप पनि लगाए । “म मात्र होइन मेरी श्रीमतीलाई पनि चरित्र हत्याको योजना गरेका छन्,” पूर्वक्रिकेटरसमेत रहेका ६९ वर्षीय खानले भने ।

प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ