arrow

पाटन कलेज फर प्रोफेसनल स्टडिजको दीक्षान्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २० आइतबार
pcps.PNG

काठमाडौं । ललितपुरको कुपण्डोलस्थित पाटन कलेज फर प्रोफेसनल स्टडीजद्वारा आज चौथौँ दीक्षान्त समारोह आयोजना गरियो । पाटन कलेज फर प्रोफेसनल स्टडीज बेलायतको युनिभर्सिटी अफ बेडफोरसायर विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेज हो । 

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा प्रमुख अतिथि रहेको उक्त दीक्षान्त समारोह काठमाडौंको होटल एलोफ्टमा आयोजना गरिएको थियो । सो दीक्षान्त समारोहमा क्याम्पसका बीएससी आँनर्स कम्प्युटर साइन्स एन्ड सफ्टवेयर इन्जिनियरिङ र बिबिए अध्ययन गरेका ८८ विद्यार्थी दीक्षित भएका थिए । 

दीक्षान्त समारोहमा प्रा. डा. भोला थापाले दीक्षित विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरे । 

त्यसै गरी क्याम्पसका अध्यक्ष ई. पङ्कज जालानले दीक्षित विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिए । अध्यक्ष जालानले सरकार तथा निजी शैक्षिक संस्थाले देशको शैक्षिक क्षेत्रको समष्टिगत विकासका लागि सहकार्य गर्नुपर्ने बताए। उनले यसको लागि दुवै पक्षको सहकार्यका लागि सरकार नीतिगत रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिए । 

कलेजका कार्यकारी निर्देशक प्रकाश कुमार केजरीवालले स्वागत राखे ।साथै सो कार्यक्रममा नेपाल ब्रिटेन चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र खेतान पुगेका थिए । 

नेपाल सरकार, शिक्षा मन्त्रालयले संस्थालाई कलेज सञ्चालन गर्ने स्वीकृति प्रदान गरेको छ साथै संस्थाले त्रिभुवन विश्वविद्यालयद्वारा मान्यता पनि प्राप्त गरेको छ । युनिभर्सिटी अफ बेडफोरसायर टाइम्स युके रैकिङ अनुसार विश्वको ६०० देखि ८०० स्थानको बिचमा पर्छ । 

सुलभ मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्ने अभिप्रायले स्थापना भएको यो कलेजले अहिलेको व्यावसायिक युगलाई सुहाउँदो जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ । यसैले कलेजले विषयगत विविधतालाई ध्यानमा राखेर मुलुकलाई आवश्यक पर्ने विभिन्न विषयका जनशक्ति यही उत्पादन गर्ने योजनाअनुरूप उच्च शिक्षा उपलब्ध गराउँदै आएको छ ।



नयाँ