arrow

कांग्रेसको निर्णयः भरतपुर महानगरको प्रमुख पद माओवादी केन्द्रलाई नछाड्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २० आइतबार
congress-maobadi-karyakarta.jpg
तस्बिर– फाइल

चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा कांग्रेसको उमेदवार रहने गरी गठबन्धनका दलहरुबीच चुनावी तालमेल गरिने नेपाली कांग्रेस चितवनले निर्णय गरेको छ ।

पार्टी कार्यालय कमलनगरमा आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगर प्रमुखमा कांग्रेसको उमेदवार रहने गरी सात वटै पालिकामा चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।

महानगरको प्रमुख पदमा कांग्रेसकै उम्मेदवार रहने गरी तालमेल गर्ने निर्णय गरेको नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बताए । ‘नेपाली कांग्रेस चितवनको आजको बैठकको निर्णयको बटम लाइन भनेको महानगर प्रमुख नेपाली कांग्रेसको उमेदवार हुने हो’, उनले भने । यसको मतलब महानगर प्रमुखको उमेदवारमा दाबी गर्दै आएको गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रलाई कांग्रेसले नछाड्ने भएको छ ।

माओवादी केन्द्रले महानगरको मेयरमा पुनः रेणु दाहाललाई नै उठाउने तयारी गरिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महानगरको प्रमुखमा आफ्नो पार्टीको उमेदवारलाई सहयोग गर्ने गरी केन्द्रीय स्तरबाटै चुनावी तालमेल गर्ने कोसिस गरिरहेका छन् । यद्यपि कांग्रेसको केन्द्रीय समितिले पनि स्थानीय आवश्यकता अनुसार तालमेल गर्ने निर्णय गरिसकेको छ ।

चितवन कांग्रेस भने यस पटक कुनै पनि हालतमा महानगरको प्रमुखमा माओवादीलाई सहयोग नगर्ने पक्षमा छ । अन्य पालिकामा माओवादीसँग तालमेल गर्ने भए पनि महानगर प्रमुखको उमेदवारमा कांग्रेसले नछाड्ने निर्णय गरिएको खनालले बताए । 

‘महानगर प्रमुखमा कांग्रेसको उमेदवार रहने गरी गठबन्धनका दलबीच सबै पालिकामा तालमेल गरी अघि बढ्ने निर्णय भएको छ’, उनले भने । अन्य पालिकाको प्रमुखमा भने स्थानीय आवश्यकताका आधारमा गठबन्धनका दलबीच तालमेल हुने उनले बताए । 

महानगर क्षेत्र नेपाली कांग्रेसको पकडको क्षेत्र भए पनि २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसले माओवादी अध्यक्ष प्रचण्ड पुत्री रेणुलाई छाडेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ