arrow

पृथ्वी भन्दा मंगलमा ध्वनिको गति निकै कम, कुरा गर्न कराउनु पर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २२ मंगलबार
nasa-mars-perseverance-rover.jpg

काठमाडौं । नासाले मंगल ग्रहमा ध्वनिको गति पृथ्वीको तुलनामा निकै कम रहेको फेला पारेको छ ।

२०२१ को फेब्रुअरी १९ मा नासाको प्रिजभेरेन्स रोभर मंगल ग्रहमा अवतरण गरेपछिको ध्वनिको विश्लेषण गरेपछि वैज्ञानिकहरूले यस्तो निष्कर्ष निकालेका हुन् ।

वैज्ञानिकहरूले पृथ्वीको तुलनामा मंगल ग्रहमा ध्वनिको गति १०० मिटर प्रति सेकेन्ड कम रहेको फेला पारेका हुन् ।

यसबाहेक अन्वेषकहरूले मंगल ग्रहमा ध्वनिको दुई किसिमका गतिहरू एउटा उच्च पीचको र अर्को न्यून पीचको हुने गरेको पाएका छन् ।

पृथ्वीमा ध्वनिको गति सामान्यतया करिब ३ सय ४३ मिटर प्रति सेकेन्ड हुन्छ। 

तर मंगल ग्रहमा न्यून पीचको ध्वनिको गति २४० मिटर प्रति सेकेण्ड र उच्च पीचको ध्वनिको गति २५० मिटर प्रति सेकेण्ड हुने गरेको वैज्ञानिकहरूले बताएका छन् ।

केवल पाँच मिटरको दुरीमै उभिएका व्यक्तिहरुबीच कुरा गर्न समेत यसले कठिन बनाउने अध्ययनमाथि जारी विज्ञप्तिमा उल्लेख छ ।

मंगल ग्रहमा ध्वनिको गति कम हुनुको कारण वायुमण्डलीय सतहको चापको हो । नेचरमा शुक्रवार प्रकाशित अध्ययनका अनुसार मंगल ग्रहमा वायुमण्डलीय सतहको चाप पृथ्वीको भन्दा १७० गुणा कम छ । 

उदाहरणका लागि उच्च पीचको ध्वनि पृथ्वीमा ६४ मिटर टाढा पुग्न सक्छ भने मंगलमा करिब ७ मिटर टाढा मात्रै पुग्न सक्छ । यद्यपि मंगल ग्रहको निकै शान्त ध्वनि मानिसको कानले भने सुन्न सक्छ ।

नासाका अनुसार फ्रान्सको टुलुस विश्वविद्यालयका एस्ट्रोफिजिस्ट र अध्ययनका प्रमुख लेखक सिल्भेस्ट्रे मौरिसले भनेका छन्, (मंगल ग्रहमा)यति शान्त थियो कि एक पटक त हामीले (प्रिजभेरेन्स रोभरमा रहेको) माइक्रोफोन भाँचियो की भनेर सोचेका थियौँ ।

मंगलमा हावाबाहेक प्राकृतिक ध्वनिहरू निकै कम सुनिन्छन् । यद्यपि, शरद ऋतुको महिनामा त्यहाँ वायुमण्डलीय चाप बढी हुने भएका कारण केही बढी ध्वनि सुन्न सकिने वैज्ञानिकहरूको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ