arrow

एमाले उम्मेदवार छान्दै, महानगरपालिकामा छान्न केपी ओली आफै अगाडि सरे 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २७ आइतबार
ncp-uml-party-head-office-hq-oli.jpg

काठमाडौं । सरकारमा रहेका दलहरु गठबन्धनमा अल्झिरहेका बेला प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको प्रकृया शुरु गरेको छ । चैत २४ गतेदेखि नै उम्मेदवार छनोट प्रकृया शुरु गरेको एमालेले गाउँपालिका र नगरपालिकाबाट जिल्लामा नाम सिफारिस गर्न थालेको हो । 

एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी (एस) पार्टीले आइतबार मात्रै उम्मेदवार छनोट मापदण्ड तयार गर्यो भने नेपाली कांग्रेसले पनि उम्मेदवार छनोटको प्रकृयालाई अघि बढाएको छैन । माओवादी पनि उम्मेदवार छनोट प्रकृयाको शुरुआती चरणमै छ । तर एमालेले भने सबैजसो स्थानीय तहको उम्मेदवार छनोटको पहिलो चरणको काम सकाउने थालेको छ । 

स्थानीय पालिकाबाट सकेसम्म सर्वसम्मत नाम पठाउने र नभएमा मात्रै विकल्पसहित पठाउन थालेको छ । यही ३० गतेभित्र सिफारिस गरिसक्नु पर्ने भएकाले एमाले धेरै जसो स्थानीय तहबाट उम्मेदवार सिफारिस गरेर जिल्लामा पठाउन थालेको हो । 

एमालेले सात सय ५३ वटै स्थानीय तहमा उम्मेदवार छनोट प्रक्रिया शुरु गरेको पार्टीका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । चैत मसान्तभित्र वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको उम्मेदवार सिफारिस गरिसक्न अन्तरपार्टी निर्देशन जारी गरे अनुसार छनोट प्रकृया शुरु भैसकेको प्रचार विभागका उपप्रमुख रिजालले बताए । 

‘सबै स्थानीय तहबाट उम्मेदवार छनोट हुने चरणमा छ । एक दुई दिनभित्रै जिल्ला कमिटीमा नामहरु आइपुग्नेछ’, प्रचार विभागका उपप्रमुख रिजालले भने । एमाले बैशाखको पहिलो साताभित्रै सबै  स्थानीय तहमा उम्मेदवार छनोट गरिसक्नेछ । 

त्यसपछि गाउँ तथा नगरपालिकाका वडाध्यक्ष र सदस्यहरूका उम्मेदवारको निर्णय सम्बन्धित वडा र पालिका कमिटीको सिफारिसमा जिल्ला कमिटीले गर्नेछ । निर्णयमा विवाद आए एक तह माथिल्लो कमिटीमा पठाउने, केन्द्रले आवश्यक ठानेमा कुनै पनि तहको निर्णयमा पुनर्विचार गर्न सक्ने एमालेको उम्मेदवार छनोट निर्देशिकामा उल्लेख भए बमोजिम हुनेछ । 

महानगर र उपमहानगर पालिकामा उम्मेदवार छनोटमा ढिलाइ हुनेछ । भरतपुर महानगरपालिकामा देवी ज्ञवालीकै प्रस्तावमा सर्वसम्मत रुपमा विजय सुवेदीलाई अघि सारेको छ । जनकपुरमा सर्वसम्मत रुपमा मेयरको उम्मेदवार सिफारिस गरिसकेको छ भने ललितपुर महानगरपालिकामा हरिकृष्ण व्यञ्जनकारलाई सर्वसम्मत रुपमा अघि सारेको छ । 

त्यसकारण महानगर र उपमहानगरका प्रमुख, उपप्रमुखहरूको उम्मेदवार चयन पनि ढिलाइ नहुने एमालेले जनाएको छ । साथै सम्बन्धित कमिटीको सिफारिस, जिल्ला र प्रदेश हुँदै केन्द्रीय कमिटीबाट गर्ने एमालेको पछिल्लो निर्णयले झन् छिटो हुने एमालेले जनाएको छ । 

अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको उम्मेदवार छनोटका ६ वटा आधारसहितको अन्तरपार्टी निर्देशन जारी गरेका थिए । जसअनुसार पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, निर्वाचित जनप्रतिनिधिको कामको मूल्यांकन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता एवं सुशासन र विकासप्रतिको दृष्टिकोण (भिजन) तथा सन्तुलन र समावेशिताको पक्षलाई आधार बनाएर उम्मेदवार चयन गर्न निर्देशन गरिएको छ । 

एमालेको प्रदेश १, बागमती प्रदेश कमिटी र गण्डकी प्रदेशमा २८ चैतभित्र वडा र पालिकाका उम्मेदवार छनोट गरिसक्ने र निर्णय हुन नसकेका पालिकाका उम्मेदवारको नाम जिल्ला कमिटीले प्रदेश कमिटीमा अनिवार्य पठाउनुपर्ने गरी निर्देशन दिएको छ । 

केन्द्रमा गठबन्धनको कुरा गरे पनि गण्डकी प्रदेशमा त्यसको असर नपर्ने बताइएको छ । गण्डकीमा एमालेसँग माओवादीको सहकार्य हुने सम्भावना रहेको स्रोतको दाबी छ । 

पार्टीका उपमहासचिव एवं गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले गण्डकीमा एमाले र माओवादीबीच सहकार्य हुने सम्भावना रहेको बताउँदै आएका छन् । तर यो विषयले औपचारिक रुप लिएको छैन । 

अहिले भने एमालेले तय गरेको मापदण्ड त्यसअनुसार पालिका कमिटीले ३० चैतभित्र बैठक राखेर सकेसम्म सर्वसम्मत सहमतिका आधारमा जिल्ला कमिटीमा पठाउन निर्देशन दिइसकेको र कतिपय पालिकाहरुले सिफारिस पठाइसकेका छन् । 

चैतभित्र महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका मेयर–उपमेयर र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षहरूको नाम छनोट सम्बन्धित पालिका कमिटीले सर्वसम्मत सहमतिका आधारमा गर्नुपर्ने तर सहमति नभएमा मेयर–उपमेयर, अध्यक्ष–उपाध्यक्ष दुवै पदमा एक महिला र एक पुरुष अनिवार्य हुने गरी तीन–तीन जनाको नाम सिफारिस गरी जिल्ला कमिटीमा पठाउन एमालेले परिपत्रमा निर्देशन दिएको थियो । 

विवाद नभएको स्थानमा सिधै जिल्ला कमिटीले निर्णय गरी पठाउने व्यवस्था गरिएको छ । विवाद भएमा मात्रै प्रदेश र केन्द्रले निर्णय गर्ने गरी अन्तरपार्टी निर्देशन जारी गरेको छ । उम्मेदवार छनोट र सिफारिस प्रकृया सकिएपछि एमालेले पालिकास्तरीय कार्यक्रमलाई तिब्रता दिनुपर्ने निर्देशन पनि दिएको छ । 

एमालेले जनवर्गीय संगठनका साथै सबै पालिकाका कमिटीलाई निर्वाचनमा केन्द्रीत हुन निर्देशन दिएको छ । साथै सम्पर्क मञ्चहरुलाई बैशाख १५ भित्रै आफ्नो निर्वाचन क्षेत्रमा पुगेर पार्टी कमिटीलाई सहयोग गर्न निर्देशन पनि दिएको छ । 

स्थानीय तहको निर्वाचनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आफै खटिएका छन् । विराटनगर महानगरपालिकाको मेयर आफै छान्ने बताएका छन् । 

त्यसैगरी काठमाडौं महानगरपालिका, पोखरा महानगरपालिका तथा वीरगञ्ज र झापाको दमक नगरपालिकाको विषयमा त्यहाँ स्थानीय नेताहरुलाई बोलाएर एमाले अध्यक्ष ओलीले छलफल गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ