arrow

माधव सरकारबाट बाहिरिने सोचमा, उपेन्द्रसँग छलफल, एमाले राप्रपालाई भित्र्याउने खेलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १७ सोमबार
prachanda-madhav-upendra.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पछिल्लो पटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच निकट सम्बन्ध देखिएको छ । एमाले र माओवादी केन्द्रको गठबन्धन बनेयता उनीहरु दुई नेताबीच निकट सम्बन्ध रहेको हो । 

उपेन्द्र अमेरिका जानुअघि दुई नेताहरुबीच लामो संवाद भएको थियो । ‘माधव नेपाल निवास कोटेश्वरमै दुई नेताहरुबीच लामो संवाद भएको हो’, स्रोतले भन्यो । माओवादीले सुटुक्क एमाले अध्यक्ष केपी ओलीको साथ लिएदेखि नै एसका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव नजिक रहेका थिए । 

उनीहरुबीच सहकार्य गर्नै विषयमा पटक पटक छलफलसमेत भैसकेको अवस्थामा पछिल्लो पटक बैशाख १३ गते बिहीबार उनीहरुबीच भेटघाट भएको स्रोतले दाबी गरेको छ । यादव शुक्रबार बिहान अमेरिका उडेका थिए । 

कुनै बेला माओवादी केन्द्रीय कार्यालयले नेकपा एससँग पार्टी एकीकरणकै लागि वार्ता समितिसमेत बनाएको अवस्था थियो । २०७९ पुस २३ गते बसेको बैठकले अन्य दलहरुसँग एकता र सहकार्यका लागि भन्दै वार्ता टोली गठन गरेको थियो । 

त्यतिबेला जसपालाई पनि सहकार्य गर्न पार्टी एकीकरणकै प्रस्ताव राखेको माओवादी अहिले भने एस र जसपालाई छाडेर एमालेसँग नजिक हुन पुगेको छ । यस्तो अवस्थामा माधव नेपालले जसपा अध्यक्षलाई आफ्नो निकट राखेर एमाले लक्षित गाली गरिरहेका छन् । 

एमालेसँगै सत्ता सहकार्यमा रहे पनि माधव नेपालले ओलीलक्षित  असन्तुष्टि पोखिरहेका छन् । नेपालले केपी ओलीको नाम नलिई सोमबार काठमाडौं जिल्ला महिला संघको कार्यक्रममा ओलीलाई गाली गरेका थिए ।  

उनले जसपासहित सरकारबाट बाहिर निस्कन सकेमा फेरि अर्को गठबन्धन गर्न सकिने गरी यस्तो अभिव्यक्ति दिएको एमालेको बुझाइ रहेको छ । तर सोमबार माधव नेपालले ओली लक्षित अभिव्यक्ति दिँदै विगतमा आएको जनमतलाई जोगाउन नसकेकोमा आक्रोश व्यक्त गरेका थिए ।

‘७४ सालमा हामीले सरकार बनाउने मौका पायौँ तर त्यसबेला सरकार पनि राम्रो चलेन, पार्टी पनि राम्रोसँग चलेन । यसको समीक्षा अहिलेसम्म पनि गर्ने हामीमा जाँगर छैन । गल्ती महसुस गर्नु पर्दैन ? अत्मालोचना गर्नुपर्छ कि भनेर त्राहीमाम भएको छ । अहिले पनि विघटन गरेको ठीक गरियो भन्ने, संविधान मिचेर ठीक गरियो भन्दिने । यसरी कसरी हुन्छ ?’

ओलीलाई गाली गरिरहँदा नेपाल अहिले प्रचण्ड र ओलीसँग सकेसम्म बार्गेनिङ पावर बढाउने नीतिमा रहेका छन् । तर ओलीले केही दिन अघि एस नामधारीले बार्गेनिङ मात्रै गरिरेको भन्दै माधव नेपाल लक्षित अभिव्यक्ति दिएका थिए । जसले गर्दा माधव नेपालले प्रतिउत्तर लगाइरहेका छन् ।

खासगरी माधव नेपालले सुदूरपश्चिम सरकार निर्माण गर्ने समयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुराकानी गरेयता एमालेका नेताहरु नेपालसँग सशंकित बनेका छन् । 

उता माधव नेपालले पनि देउवासँग समानान्तर संवादमा रहने नीति लिइरहेका छन् । यस्तै हो भने एमाले नेतृत्वले पनि माधव नेपाल अहिलेको सत्ता समीकरणबाट बाहिरिए राप्रपालाई ल्याउने सोच बनाइसकेको स्रोतले जनाएको छ ।  

सरकारमा जसपा रहिरहे नेकपा एस बाहिर रहे राप्रपा आउँदा अहिलेको समीकरण रहिरहने एमाले नेतृत्वको सोच रहेको स्रोतले जनाएको छ । 

उता नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाख खतिवडाले पनि अपमानित भएर सरकारमा बसिरहनु पर्ने बाध्यता नभएको बताएका छन् । 

‘सम्मानित नभए अपमानित भएर हेपिएर पेलिएर सरकारमा बस्नुपर्छ भन्ने छैन’, उनले भने । उनका अनुसार अहिले एस पार्टी महाधिवेशनको तयारीमा लागेकाले सरकार फेर्ने वा नयाँ गठबन्धन बनाउने तर्फ लागेको छैन । 

तर सोमबार माधव नेपालले आफू प्रधानमन्त्री बन्ने गरी अघि बढ्न खोजेको संकेत गरेका थिए । ‘हामी प्रधानमन्त्री बन्छौँ भनेर कतिपयलाई पोल्न थालेको छ । कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पोल्न थालेको छ । पोल्ने मान्छेहरू पनि छन् यो समाजमा, पोले पोलोस्, दनदनी आगोले पोलोस्, त्यस्ता प्रवृत्ति बोक्नेहरुलाई धिक्कार छ । त्यो भएकाले परिस्थिति हाम्रो अनुकुल बनाउने कुरामा ध्यान जानुपर्छ’, उनले भनेका थिए । तर प्रधानमन्त्री बन्ने बाटोको बारेमा भने उनी क्लियर देखिएनन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ