arrow

नागरिकका समस्या नबुझ्ने स्थानीय सरकार, यसपालिको चुनावमा देखाइदिने चेतावनी

logo
श्रीकृष्ण सिग्देल, 
प्रकाशित २०७८ चैत २९ मंगलबार
277844545_702441211189543_5146169372530166058_n.jpg

स्याङ्जा । वालिङ नगरपालिकामा गत वर्ष असार १२ गते एक नागरिकले निवेदन पेश गरे । निवेदन नगर प्रमुख दिलिपप्रताप खाँणलाई सम्बोधन गरेर दिइएको थियो । निवेदनमा नगर प्रमुखलाई सम्बोधन गरेकाले पेश गर्न पनि उनले नगर प्रमुखलाई नै खोजे तर पटक—पटक नगरपालिका धाउदा नगर प्रमुख खाँणलाई फेला पार्न ति नागरिकले सकेनन् । 

नगर प्रमुख खाँणको कार्य व्यस्तताका कारण उनको निवेदन पेश गर्ने समय बढ्दै गयो । ठीक १२ दिनपछि उनले बल्ल बल्ल नगर प्रमुखलाई फेला पारे अनि निवेदन पेश गरे । असार १२ गते लेखिएको निवेदनमा नगर प्रमुख खाँणले २४ गते विपद् शाखा भनेर तोक लगाइदिए । 

निवेदकले निवेदन लेखेर झण्डै दुईसाता लगाएर लगाएको तोकपछि उनी सिधै दर्ता फाँटमा पुगेर आफ्नो निवेदन दर्ता गराए । तोक आदेश लगाएको निवेदन २०१८ नम्बरमा दर्ता भयो ।

नगरपालिकामा पेश गरेको निवेदनमा विषय के उल्लेख गरेका थिए त्यो भने उनले अहिले भुलिसकेका छन् । किनभने आफूले माग गरेको विषयमा नगरपालिकाले खासै चासो नदिएकाले पछि त्यसको फलोअप गर्न छाडिदिए ।  

निवेदन पेश गर्ने व्याक्ति थिए वालिङ ९ हस्पिटल चोकका शंकरप्रसाद डुम्रे । हस्पिटल चोकमा व्यवसाय गर्दै आएका डुम्रे व्यवसायी हुन् । उनको व्यवसाय वालिङ प्राथमिक स्वास्थ्य केन्द्र जाने चोकमा पर्छ । गत वर्ष असार ४ र ५ गतेको वर्षाद्ले ठूलो बाढी आयो । 

बाढीका कारण उनको पसलभित्र पानी पसेर झण्डै ५ लाख बराबरको सामानको क्षति भयो । उनको घरमा पानी पस्नाको कारण थियो वालिङ नगरपालिकाले फराकिलो बनाउने भनेर खनेको सिद्धार्थ राजमार्ग अनि प्राथमिक स्वास्थ्य केन्द्रले निर्माण गरेको भवन । राजमार्गदेखिको ढुङ्गा, गिट्टी, माटो र निर्माणाधीन स्वास्थ्य केन्द्र भवनको सामग्री बाढीले बगाएर नाला थुनेपछि उनको पसलभ पानी पस्न पुग्यो । 

डुम्रेले सोही नाला मर्मत गरिदिन र ठूलो बाढी नआउँदा पसलमा पानी आउनबाट राकिदिन उनले नगर प्रमुख समक्ष निवेदन पेश गरेका थिए । आकाशमा कालो बादल मडारिने बित्तिकै डुम्रेलगायत आसपासका टोलवासी फेरि पानी घरभित्र पस्ने भो भन्ने त्रासमा रहँदै आएका छन् । 

नगर प्रमुखले तोक आदेश दिएको निवेदन योजना शाखामा पुगे पनि अहिलेसम्म कार्यान्वयन नभएको गुनासो उनको छ । डुम्रेले वडादेखि नगर र सामाजिक संजालमार्फत अनुरोध गर्दा पनि सुनुवाइ नभएकोमा दुःख व्यक्त गरे । अहिले उनले यसको नतिजा स्थानीय तहको निर्वाचनबाट देखाउने चेतावनी दिएका छन् । 

जहाँबाट अस्पताल जाने आउने, विद्यालय र क्याम्पस जाने यो अत्यन्तै व्यस्त सडक पनि हो । नगरका अधिकांश सडकमा निर्माण गरिएका नालाहरु पुरानै संरचनामा भएका र नयाँ संरचनामा चासो नदिँदा यस्ता समस्याहरु चुनौती बन्दै आएका छन् । 

नगर प्रमुखले तोक आदेश गरेको निवेदनमा किन कार्यांन्वयन भएन भन्ने प्रश्नमा वालिङ नगरपालिका योजना शाखाका प्रमुख मणि तिवारीले समस्या पुरै समाधान नभए पनि प्रक्रिया अगाडि बढेको बताए । 

‘बजेट थोरै जनताको माग धेरै छन्’ तिवारीले भने, ‘प्राथमिकताका आधारमा काम गर्दा केही ढिलाइ हुन गएको हो ।’ झण्डै २५ लाख लाग्ने भएकाले यसको काम आगामी वर्षमा हुने उनले बताए । 

जनताले चुनेका प्रतिनिधिले समस्या भएको एक वर्षसम्म पनि चासो नदिँदा नागरिकले कति समय दुःख झेल्ने हो भन्ने विषय उठ्न थालेको डुम्रेले बताए । ‘निवदेन दिएको एक वर्षसम्म पनि समस्याको अनुगमनसमेत नहुनु नागरिकप्रति जनप्रतिनिधिको उत्तरदायित्व नभएको देखियो’ उनले भने । 

डुम्रेले दिएको निवेदनमाथि एक वर्षसम्म पनि कारबाही नहुनुले यस्ता निवेदनको चाङ् नगरपालिकामा धेरै भएको अनुमान गरिएको छ ।

यता कार्यबाहक वडाध्यक्ष दीपक श्रेष्ठले भने हस्पिटल चोकको समस्या थाहा भएको स्वीकारेका छन् । उनले अबको एक सातामा सो समस्या समाधान हुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ