- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले छ वटा महत्वपूर्ण निर्णय गरेको छ । पार्टी उपसभापति एवं समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा शुक्रबार पार्टी केन्द्रीय कार्यालय, वी.पी. स्मृति भवन, वी. पी. नगर, ललितपुरमा बसेको बैठकले महत्वपूर्ण छ वटा निर्णय गरेको हो ।
जसमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको कार्यादेश २०७८ लाई अनुमोदन गर्ने निर्णय भएको छ । त्यस्तै स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति अन्तर्गत काम, कर्तव्य र अधिकार समेत तोकी विभिन्न उपसमितिहरु गठन गर्ने निर्णय भएको छ ।
ती उपसमितिहरु सात वटा रहेका छन् । जसमा भ्रातृ संघ समन्वय एवं परिचालन उपसमिति, शुभेच्छुक संस्था समन्वय एवं परिचालन उपसमिति, जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति, विदेशस्थित जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति, अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण उपसमिति, निर्वाचन सुरक्षा निकाय समन्वय उपसमिति र आचार संहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति रहेका छन् ।
त्यस्तै स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजकले उपसमितिका संयोजक मनोनयन गर्ने र उपसमितिका संयोजकको परामर्शमा परिचालन समितका संयोजकले उपसमिति गठन गर्नेसमेत निर्णय भएको छ ।
तेस्रो बुँदाको निर्णयमा स्थानीय तह निर्वाचनका लागि ७ वटा प्रदेश र ७७ वटै जिल्लामा काम, कर्तव्य र अधिकार समेत तोकी केन्द्रीय प्रतिनिधि खटाउने निर्णय भएको छ ।
त्यस्तै समितिले प्रदेश कार्यसमितिलाई मातहतका जिल्ला अन्तर्गतका पालिकामा प्रदेश प्रतिनिधि खटाउन निर्देश गर्ने भएको छ । साथै स्थानीय तह निर्वाचनको चुनावी सभालाई व्यवस्थित, सभ्य र छरितो बनाउन “चुनावी सभा व्यवस्थापन मापदण्ड” लाई अनुमोदन गर्ने भएको छ ।
छैटौं नम्बरको निर्णयमा पार्टी आवद्ध भ्रातृ संघ एवं शुभेच्छुक संस्थाहरुलाई केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा र टोल तहसम्म तत्काल स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरी पार्टीका उम्मेदवार तथा गठवन्धनमा रहेका अन्य दलसंग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देश गर्ने निर्णय रहेको छ ।
शुक्रबारको बैठकमा समितिका सदस्यहरु – केन्द्रीय सदस्यहरु श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ, योगेन्द्र चौधरी, गेहेन्द्र गिरी, उदयशम्शेर राणा, नैनसिंह महर, रामहरि खतिवडा, सरस्वती अर्याल तिवारी, मञ्जु खाँण, गुरु बराल, हरिशरण नेपाली र सीताकुमारी राना तथा आमन्त्रित सदस्यहरु –नेपाल विद्यार्थी संघ, नेपाल डेमोक्रेटिक लयर्श एशोसिएसन (डिएलए), नेपाल सांस्कृतिक संघ, नेपाल लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका अध्यक्ष एवं प्रतिनिधिले आ–आफ्नो धारणा राखेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।