arrow

ठेकेदार ठान्नेहरूबाट मधेस मुक्त : अध्यक्ष ओली

logo
एसवी थापा,
प्रकाशित २०७९ वैशाख ३ शनिबार
kp-oli-madesh-visit-sarlahi.jpg
तस्बिर : रासस

सर्लाही। आफूलाई मदेसका ठेकेदार ठान्नेहरूबाट मधेस मुक्त भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताए। शनिवार सर्लाहीको मलंगवामा एमाले जिल्ला कमिटीले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अब आफूलाई कसैले मदेसको ठेकेदार नठान्न चेतावनी दिएका छन्।

विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै ओलीले मदेसका नागरिकलाई मदेसको ठेकेदार ठान्नेहरूले नै शोषण गरेको दाबी गरे। २०४६ सालको आन्दोलनपछि २०४७ साल वैशाखमा सर्लाही सदरमुकाम मलंगवा आएको स्मरण गर्दै उनले ३२ वर्षपछि आउने अवसर जुरेको भन्दै खुसी व्यक्त गरे। मदेसको जनताको आर्थिक, सामाजिक तथा समग्र विकासको लागि आफ्नै कार्यकालमा एमाले सरकारले ठुला योजना अघिसारेको उनले दाबी गरे।

एमाले सरकारले कुरा नभई काम गरेर देखाउने गरेको ओलीले बताए। २२ वर्ष पहिला आफ्नो सरकारले ल्याएको हुलाकी सडकको अवधारणाले मदेसको विकासले काँचुली फेरेको ओलीले बताए।

जनकपुरबाट ढल व्यवस्थापन सुरु गरेको बताउँदै मदेसका सबै ठाउँमा ढल र पानीको सुविधा पुर्‍याउने उनले बताए। आफ्नै सरकारले सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको उनको जिकिर छ। यसलाई एमालेको सरकारले बढाउँदै लैजाने उनले बताए।

उनले मदेसका नेकपा एमालेप्रति जनताको आकर्षण बढेको बताउँदै यस पटक चुनावमा अत्यधिक बहुमतसहित विजयी हुने ठोकुवा गरे। फरक प्रसङ्गमा बोल्दै अध्यक्ष ओलीले अहिलेको गठबन्धन विकास विरोधी भएको आरोप लगाएका छन्।



नयाँ