arrow

मधेसमा जसपा कि लोसपा ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ४ आइतबार
local-level-election-2079.jpg

काठमाडौं । खासगरी मधेस प्रदेशमा आफ्नो पकड जमाएका तराई–मधेस केन्द्रित दलका नेताहरुले  प्रभाव जोगाइ राख्न दौडधुप सुरु गरेका छन् । अहिले मधेसी नेताहरु मधेसमै छन् । 

शीर्ष नेताहरु प्रायः सबै लुम्बिनी र मधेस प्रदेशका विभिन्न जिल्लामा व्यस्त छन् । काम विशेष पर्यो भने एक दुई दिनका लागि मात्र काठमाडौं आउँछन् । काठमाडौं आउने बित्तिकै मधेस फर्कने गरेका छन् । 

जनता समाजवादी पार्टीले चुनाव अवधिभर मधेसका विभिन्न पालिका नछाड्न पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई उर्दी नै जारी गरेको छ । पार्टीका कार्यकारिणी समितिका सदस्य मनिष समुनका अनुसार पार्टीका केन्द्रीय सदस्यहरुलाई आफ्नो नागरिकता भएको पालिका या आफूले चाहेको एउटा पालिकामा चुनाव अवधिभर अनिवार्य रुपमा पालिकामै बस्त उर्दी जारी गरिएको छ । उनले भने, ‘केन्द्रीय सदस्यहरु एक दिन पनि पालिका छाड्न पाउँदैननर तर कार्यकारिणी समितिका सदस्यहरु भने पार्टीको काम पर्यो भने या बैठकमा सहभागी हुन एक–दुई दिनको लागि काठमाडौं याअन्य ठाउँमा जान सक्छन् ।’ 

जसपामा ३५ जना कार्यकारिणी र ४ सय ९३ जना केन्द्रीय सदस्य छन् । एउटा पालिकामा २ वा २ भन्दा बढी केन्द्रीय सदस्यहरु भएमा आपसी सहमतिबाट पालिका रोज्ने अधिकार केन्द्रीय सदस्यलाई दिइएको सुमनले बताए । 

जसपा अध्यक्ष उपेन्द्र यादव लामो समय पछि बिहीबार काठमाडौ आएका छन् । उनी २ दिनमै फेरि मधेसमा फर्कने भएका छन् । संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र शीर्ष नेता अशोक राई भने त्यति मधेसमा जाने गरका छैनन् । मधेस उनीहरुको गृह जिल्ला होइन । ‘डा. भट्टराई र राई बाहेक प्रायः सबै नेता मधेसमै हुनुहुन्छ’ जसपाका अर्का एक नेताले भने ।

केन्द्रीय तहमा जसपाले सत्तारुढ दलहरुबीच गठबन्धन गर्ने निर्णय गरे पनि कैलाली र नेपालगञ्जमा गठबन्धनलाई पार्टीले स्वीकार गरेको छैन । 

कैलालीमा छुट्टै गठबन्धन गरेको छ । जसपाका नेताका अनुसार स्थानीय निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीभन्दा बलियो हुन जसपाका नेताहरुले विभिन्न रणनीति बनाइरहेका छन् । जसपाले वरिष्ठ नेता राईको संयोजकत्वमा १८ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । 

जसपाको जस्तो दौडधुप नभए पनि लोसपाका नेताहरु पनि मधेसमै व्यस्त छन् । लोसपाका अध्यक्ष महन्थ ठाकुर अस्वस्थ्यको कारण काठमाडौंमा छन् । उनी बाहेक लोसपाका अधिकांश नेता मधेसमै छन् । 

लोसपाकाले केही दिन अघि उम्मेदवार चयन गर्न मधेस प्रदेशका ८ वटै जिल्लामा पार्टीका सांसदहरुलाई एक–एक गरी खटाएको थियो । ‘अब कार्यकारिणी समितिका सदस्यहरुलाई पनि प्रत्येक पालिका, त्यो सम्भव नभए प्रत्येक जिल्लामा जिम्मेवारी दिइ खटाउन जरुरी भइसकेको छ’ लोसपाका कार्यकारिणी समितिका सदस्य राजिव झाले भने, ‘अब ढिलो भइसकेको छ । चुनाव आउन लागिसक्यो ।  त्यसैले पार्टीले चाँडै निर्णय गर्नुपर्छ ।’

जसपा र लोसपाका भोट बैंक विशेष गरी मधेसमै छ । त्यसैले यी दुई पार्टीले आफ्नो सबै ध्यान तराई मधेसमै लगाएका छन् ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ