arrow

छ महानगरपालिकामध्ये तीन कांग्रेसलाई र बाँकी एक एक वटा बाँड्ने तयारी छ – प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ५ सोमबार
prachanda-press-meet-2079.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ६ महानगरपालिकामध्ये तीन वटा नेपाली कांग्रेसलाई दिएर बाँकी तीन वटा माओवादी, नेकपा एस र जनता समाजवादी पार्टी (जसपा) ले बाँड्ने तयारी भइरहेको बताएका छन् । 

माओवादीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सोमबार दिउँसो आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले उक्त जानकारी दिएका हुन् । 

बालुवाटारमा भएको पाँच दलीय सत्ता गठबन्धनको बैठक छाडेर आएका प्रचण्डले उक्त भने, ‘हाम्रो पछिल्लो छलफलअनुसार ६ वटा महानगरपालिकामध्ये ३ वटा कांग्रेसलाई र बाँकी ३ वटा महानगरपालिका माओवादी, नेकपा एस र जनता समाजवादी पार्टीले एक एक वटा बाँड्ने सहमति नजिक पुगेका छौं ।’

उनले यहीअनुसार नै उपमहानगरपालिकामा पनि भागबण्डा गर्ने बताएका छन् । उनले सहमतिबाटै अगाडि बढ्ने बताउँदै भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र सजिलै आएको हैन । यो परिवर्तन रोक्न खोज्नेहरुबीच डाडु पन्यु गयो विगतमा । विगतमा हामीबाट पनि केही कमी कमजोरी भएको छ । अब हामीले नै जनताको घरघरमा गएर यसबारे बुझाउनु जरुरी छ ।’

प्रचण्डले भने, ‘महानगर र उपमहानगरपालिकालाई केन्द्रबाट टुंग्याउने नीति भएकाले केन्द्रबाटै टुंग्याउँदै छौं । अन्यको हकमा स्थानीयबाटै मिलाउने र यदि नसके केन्द्रबाटै मिलाउने छौं ।’

गठबन्धन नटुट्ने भन्दै प्रचण्डले भने, ‘एक दलभित्र त असहमति हुन्छ भने पाँच दलबीच असहमति भए पनि अन्तमा समाधान हुन्छ । साझा चुनाव चिन्ह बनाएर जाने सम्भावना तत्काल देखिएको छैन ।’ 

प्रचण्ड बालुवाटारमा गइरहेकोबारे जिज्ञासा राख्ने क्रममा माओवादी बलियो भए किन बालुवाटार जान्थ्यो र ? भन्ने प्रश्नमा उनले भने, ‘बालुवाटार प्रधानमन्त्रीको निवास भएकाले बलियो र कमजोर हुनुको सम्बन्ध छैन । प्रधानमन्त्री भएको भए त बालुवाटारमै हुन्थें । दोस्रो कुरा मेरो उपेन्द्रजी र बाबुरामजीसँग राम्रो तालमेल भइरहेको छ ।’ 

भरतपुरमा रेणु दाहाललाई नै ल्याउनु पर्ने किन ? भन्ने प्रश्नमा उनले भने ‘६ वटा महानगरपालिका छन् । त्यसमा एउटा त माओवादीलाई पर्ने नै होला । काठमाडौं, विराटनगर जहाँ भए पनि हुन्छ । भरतपुरमा पहिले रेणुले जितेको हुनाले अहिले दिँदा पनि ठीकै हुन्छ भनेको हो । केही केहीलाई नलागेको अलग कुरा कांग्रेसलाई पनि भरतपुर दिनुपर्छ भन्ने होला ।’ 

उनले थप स्पष्ट पारे, ‘गठबन्धन भएन भने जहाँ जोसँग सहमति हुन्छ उसैसँग गर्ने हो । माओवादीले तीन महिनाअघिदेखि नै एक्लै लड्ने भन्दै आएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ