- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नवलपुर । गैँडाकोट नगरपालिका वडा नं. ५ नवलपुरस्थित जनक माविका एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिल घिमिरे रहेका छन् । कक्षा १२ मा अध्ययनरत छात्रालाई मोबाइलमा अश्लील भिडियो देखाएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
श्रोतका अनुसार गत चैत्र ३० गते शिक्षक घिमिरेले कम्प्युटर ल्याबमा विद्यार्थी एक्लैलाई अश्लील भिडियो देखाएको र आफूसँग पनि सम्बन्ध राख्न भनेका थिए । यो घटनापछि शिक्षकमाथि कारबाहीको माग गर्दै विद्यार्थीहरूले आन्दोलन चर्काएपछि शिक्षक पक्राउ परेका हुन् ।
अभिभावकको उजुरीपछि प्रहरीले आइतबार ती शिक्षकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार घटनाका बारेमा छात्राले शिक्षकविरुद्ध इलाका प्रहरी कार्यालय गैंडाकोटमा आइतबार लिखित जाहेरी दिएकी हुन् ।
विद्यार्थीहरूले आइतबार विद्यालय परिसरमा रहेका दुई वटा मोटरसाइकलमा समेत आगजनी गरेका थिए । स्थिति तनावग्रस्त भएपछि प्रहरीले दुई दर्जन राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो ।
विद्यालयका प्रधानाध्यापक चूडामणि कँडेलले घटना छानबिन गरी दोषी प्रमाणित भए कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । विद्यार्थी आन्दोलनका कारण जनक माविको पढाइ ठप्प छ । ‘आजबाट क्लास सुरु गर्ने तयारी गरेका छौँ,’ कँडेलले भने, ‘एसइईलाई मध्यनजर गर्दै पढाइ शुरु गर्ने तयारीमा छौँ ।’