arrow

मुम्बई माथ खायो, धोनीले अन्तिम ओभरमा जिताए चेन्नईलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
Screenshot 2022-04-22 072453.jpg

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा मुम्बई इन्डियन्सले लगातार सात खेलमा हार बेहोरेको छ । बिहीबार रातिको सातौं खेलमा उसलाई चेन्नई सुपर किंग्सले ३ विकेटले पराजित गर्यो ।  

मुम्बईले दिएको १५६ रनको लक्ष्य चेन्नईले अन्तिम बलमा भेट्टायो । पूर्वकप्तान महेन्द्रसिंह धोनीले १३ बलमा अविजित रहँदै २८ रन बनाए  । उनले अन्तिम ओभरमा १६ रन बनाएका थिए । 

टीमलाई अन्तिम ओभरमा १७ रनको जरुरी रहेका बेलामा पहिलो बलमा प्रिटोरियस एलबीडब्लु आउट भए । दोस्रो बलमा डिएनो ब्राभोेले १ रन बनाए । तेस्रो बलमा धोनीले छक्का हाने । चौथो बलमा धोनीले चौका हाने । पाँचौं बलमा धोनीले दुई रन हाने । अन्तिम बलमा चौका हानेर टिमलाई जिताए । 

आम्बाती रायडुले सर्वाधिक ४० तथा रोविन उथप्पाले ३० रनको योगदान गरे । मुम्बईमा ड्यानिल सामले सर्वाधिक ४  विकेट लिए । 

यसअघि मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । उसका तिलक वर्माले सर्वाधिक ५१ रन बनाए । सूर्यकुमार यादवले ३२ रन जोडे । चेन्नेईमा मुकेश चौधरीले सर्वाधिक ३ विकेट लिए । 

सातौँ खेलसम्म जित निकाल्न नसकेको मुम्बई तालिकाको पुछारमा छ । दोस्रो जित निकालेको चेन्नई नवौं स्थानमा छ । 

गुजरात टाइटान्स र रोयल च्यालेन्जर्स चालेन्जर्स समान १० अंकसहित पहिलो र दोस्रो स्थानमा छन् । 



नयाँ