- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्र बारे एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन्। उनले नेपाली काँग्रेसले जमिनमा टेकेर गर्न सकिन कामहरू मात्र घोषणापत्रमा उल्लेख गरेको भन्दै एमालेले जस्तो हावादारी घोषणापत्र तयार गर्न नसकिएको टिप्पणी गरेका छन्।
उनले एमाले घोषणापत्रलाई उडन्ते गफ जस्तो हावामा उडिरहने भएको बताएका छन्।
मङ्गलवार सामाजिक सञ्जालमा शर्माले लेखेका छन् , 'जिम्मेवार सपना त्यो होइन जो उडन्ते गफ जस्तो हावामा उडिरहन्छ, सपना त्यो हो जो जिम्मेवार ढङ्गले धरातलमा उभिन्छ ! `जमिनमा टेकेर गर्न सकिने कामहरू´ मात्रै उल्लेख काँग्रेसको घोषणापत्र श्रद्धेय केपी शर्मा ओली लाई मन परेन ठिकै छ। तर कम्तीमा विषयको बहसमा आउन चाहेकोमा धन्यवाद छ उहाँलाई !'
शर्माले एमाले अध्यक्ष ओलीले मङ्गल ग्रहमा माछापालन र चन्द्रमामा च्याउ खेतीको सपना देखाउन खोजेको भन्दै त्यसलाई उनले उडन्ते सपनाहरूको गफको पुलिन्दाको संज्ञा दिए।
'मङ्गल ग्रहमा माछापालन र चन्द्रमामा च्याउ खेतीको सपना देखाउन मात्रै बाँकी राख्नु भएको छ' ओलीलाई सम्बोधन गर्दै उनले लेखेका छन्, 'माफ गर्नोस् श्रद्धेय कमरेड `उडन्ते सपनाहरूको गफको पुलिन्दा´लेख्न काँग्रेसलाई आएन !'
चुनावी मैदानमा घोषणापत्रदेखि उम्मेदवारको चरित्र सम्मको चिरफार गर्न उनले आग्रह गरेका छन्। खरा प्रश्न गर्न जनतालाई अपिल गर्न र जिम्मेवार ढङ्गले जवाफ पेस गर्न उनले आग्रह गर्दै भनेका छन्, 'तर मर्यादा भन्दा तल गालिमा नझरौँ !´सानोदेखि लागेको बानी भनेर निर्वाचन आचारसंहिताले उच्च तहलाई पनि घृणास्पद अभिव्यक्तिको छुट दिँदैन, चेतना भया !'
मङ्गलवार एमाले अध्यक्ष ओलीले काँग्रेस घोषणा पत्रलाई 'पागलहरूको प्रलाप' भनेर टिप्पणी गरेका थिए।