arrow

टिकट वितरणलाई लिएर कांग्रेस क्रियाशील सदस्यहरूले दिए राजीनामा 

logo
सुनिल आउजि,
प्रकाशित २०७९ वैशाख १५ बिहिबार
dhangadi-rajinama.jpg

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा टिकटको विषयले लिएर विवाद देखिएको छ । टिकट वितरण एकोहरो ढङ्गले गरेको भन्दै ५८ जना क्रियाशील सदस्यहरूले बिहीबार पत्रकार सम्मेलन गरी राजीनामा दिएका छन् । 

‘धनगढी उपमहानगरपालिका वडा नं ४ मा नेपाली कांग्रेसबाट ११ जना अध्यक्ष पदका लागि तथा २२ जना सदस्य पदका लागि उम्मेदवारी दाबी गरिएको थियो’, पत्रकार सम्मेलनमा वडा नम्बर ४ का निवर्तमान वडा अध्यक्ष दीपककुमार थापा क्षेत्रीले भने । ‘कसैसँग पनि छलफल नगरी बडा कार्य समितिले ३ जना अध्यक्ष पदका आकांक्षको नाम सिफारिस गर्‍यो ।’

पार्टीको विधान विपरीत २०७४ निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध बागी भई कारबाहीको सिफारिसमा परेको व्यक्तिलाई टिकट दिएकोप्रति आपत्ति रहेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

कांग्रेस वडा नम्बर ४ बाट बुद्धि खड्कालाई उम्मेदवारी दिएको छ । उक्त पार्टीले कारबाही गरेको व्यक्तिको टिकट रोक्न ९९ जना क्रियाशील सदस्यहरूको हस्ताक्षर सहित अगाडि नबढाउने जिल्ला कार्य समितिको ध्यानाकर्षण गर्दा पनि बेवास्ता गरिएको असन्तुष्टहरूले जनाएको छन् ।

वडाका क्रियाशील सदस्यहरूको मर्म तथा भावना नबुझेर नै उम्मेदवारी छनोट गरेको भन्दै असन्तुष्टि रहेको उनीहरूले बताएका छन् ।

टिकट वितरण गर्ने निकायले सदस्य पदको निर्णयमा समेत धाँधली गरेको उनीहरूको आरोप रहेको छ । क्षेत्रीय कार्यसमितिले गरेको निर्णयमा टिकट दिने निकायले टिकट पाएका व्यक्तिहरूको नाममाथि समेत टिपेक्स लगाई आफू अनुकूलका अन्य सदस्यको नाम उल्लेख गरेको उनीहरूले आरोप लगाएका छन् ।

वडाको टिकट दिने प्रक्रियामा भूगोल, क्षेत्र, योगदान मूल्याङ्कनै नगरी हस्तक्षेप भएको वडा नम्बर ४ का पूर्व कांग्रेस वडा सभापति अनन्तराज जोशीले बताए । एकलौटी ढङ्गले गरेको निर्णयले तथा पार्टीले गर्ने विभेदपूर्ण व्यवहारबाट पीडित पार्टीका इमन्दार, क्रियाशील एवम् सक्रिय कार्यकर्ताहरूले मनोभावनामा आँच पुगेको उनले बताए । 

असन्तुष्ट समूहले आसन्न निर्वाचनमा स्वतन्त्र ढङ्गले मतदान गर्ने जनाएका छन् । वडा बाट ९९ जना असन्तुष्टहरूको हस्ताक्षर सहित जिल्ला सभापतिलाई बुझाउने उनीहरूले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ