- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलको उम्मेदवारी कायम भएको छ । फिर्ता लिने अन्तिम समय आज साँझ ५ बजेसम्म उनको उम्मेदवारी फिर्ता नभएको हो ।
उम्मेदवारी फिर्ता नलिन दबाब दिँदै पौडेल निवासमा बिहानैदेखि नेता कार्यकर्ताको भीड लागेको थियो । पाँच दलीय गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी नेतृ रेणु दाहाल भरतपुर महानगरपालिकाको प्रमुखमा उम्मेदवार छिन् ।
पौडेलले आफ्नो उम्मेदवारी रुख तथा चारतारे झण्डा विरुद्ध नभएर लोकतान्त्रिक पद्धतिको प्रयोग र प्रवद्र्धनमा केन्द्रीत रहेकाले फिर्ता नलिएको बताएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जगन्नाथ पौडेलको उम्मेदवारी फिर्ता नभएको बताए । नेकपा (एमाले)का तर्फबाट महानगरमा विजय सुवेदी प्रमुख पदमा उम्मेदवार छन् ।
पौडेलले उम्मेदवारी दिँदा नेपाली कांग्रेस चितवनका पूर्वसभापति कृष्णलाल सापकोटा प्रस्तावक र कांग्रेस महासमिति सदस्य मीना खरेल समर्थक रहेका छन् ।
पौडेल विसं २०४९ सालको स्थानीय चुनावमा तत्कालीन भरतपुर नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएका थिए । वरिष्ठ अधिवक्ता पौडेल राष्ट्रियसभाको सदस्य भइसकेका छन्।
कांग्रेस नेताहरुले प्रदेशसभा सदस्य बनाउने, गृह राज्यमन्त्री बनाउने जस्ता अफरसमेत उनलाई गरेका थिए । उनलाई फकाउन चितवनका कांग्रेस नेताहरू पनि घरमै पुगेका थिए । तर आफ्नो उम्मेदवारी फिर्ता लिनु भनेको मतदाताको अपमान हुने भन्दै आफू पछि नहट्ने उनको अडान थियो ।
पौडेलले उम्मेदवारी फिर्ता नलिएपछि रेणुलाई जित्न मुस्किल पर्ने देखिन्छ ।
उम्मेदवारी फिर्ता नलिएपछि पौडेललाई नेपाली कांग्रेसले कारबाही गरेको छ । पौडेल पार्टीबाट निष्काशित भएका छन्।