arrow

'बागी उम्मेदवारी दिने पार्टी सदस्यताबाट स्वतः निष्कासन हुने'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १८ आइतबार
prakash-sharan-mahat-evergreen-22.JPG

काठमाडौं । कांग्रेसका आधिकारिक उम्मेदवारको विरुद्ध तथा गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिनेको उम्मेदवारसहित निजका प्रस्तावक र समर्थकको पार्टी सदस्यता स्वतः निष्कासन हुने भएको छ ।  पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा प्रकाशशरण महतले सो कुरा बताएका हुन् । 

कांग्रेसका आधिकारिक उम्मेदवारको विरुद्ध तथा गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिने कांग्रेसका अधिकांशले उम्मेदवारी फिर्ता लिइसकेको जानकारी दिँदै उनले फिर्ता नलिनेको हकमा उम्मेदवारसहित निजका प्रस्तावक र समर्थकको पार्टी सदस्यता स्वतः निष्कासन हुने प्रावधान क्रियाशील भएको बताए ।

 “तथापि प्राविधिक कारणले र तालमेलको निर्णय ढिलो भएको कारणले फिर्ता लिन नभ्याउनु भएका तर पार्टीको निर्णय शिरोधार्य गरी पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारको पक्षमा समर्थन गर्दै वक्तव्य जारी गरी चुनावी प्रतिस्पर्धाबाट बाहिरिनेको हकमा यो प्रावधान लागू हुने छैन,” प्रवक्ता महतले भने ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशभरका ७५३ स्थानीय तहका ३५ हजार २२१ पदमा सत्तारूढ गठबन्धनका तर्फबाट प्रायः उम्मेदवारी परेको छ । लोकतन्त्र, गणतन्त्र र संविधानसभाबाट जारी गरिएको सङ्घीयता, समावेशिता र गणतन्त्रसहितको लोकतान्त्रिक संविधानको रक्षाका लागि भन्दै कांग्रेसको नेतृत्वमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाबीच स्थानीय तहको निर्वाचनमा तालमेल गरेर चुनाव लड्ने सहमति भएको छ ।

निर्वाचनमा कांग्रेसका तर्फबाट प्रमुखमा २६२, अध्यक्षमा ३७२, उपप्रमुखमा १९४, उपाध्यक्ष ३४०, वडाअध्यक्ष ६ हजार ४३, महिला सदस्यमा पाँच हजार ९३८, दलित महिला सदस्यमा पाँच हजार ६९१, अन्य सदस्यमा ११ हजार ७८८ गरी जम्मा ३० हजार ६२८ उम्मेदवारी परेको छ ।

कांग्रेसका सबै तहका संरचना र भ्रातृ तथा शुभेच्छुक सङ्गठन पार्टीका आधिकारिक उम्मेदवार प्रचार-प्रसार अभियानमा जुटेका छन् । निर्वाचन अभियानलाई मर्यादित, अनुशासित र सुव्यवस्थित ढङ्गले सञ्चालन गर्न विभिन्न समिति र उपसमिति गठन गरिएका छन् । साथै कांग्रेसका सबै तहका संरचनाअन्तर्गत प्रचार-प्रसार र निर्वाचन परिचालन उपसमिति गठन गरिएका छन् । भ्रातृ तथा शुभेच्छुक संस्थाले पनि केन्द्रदेखि स्थानीय तहसम्म प्रचार-प्रसार र निर्वाचन परिचालन समिति गठन गरेर निर्वाचन अभियानलाई गति दिइएको छ ।

यसबाहेक पार्टीले प्रदेश १ को मोरङमा यही वैशाख २१ गते, मधेस प्रदेशको धनुषामा वैशाख २२ गते, बागमती प्रदेशको काठमाडौँमा वैशाख २३ गते, गण्डकी प्रदेशको कास्कीमा वैशाख २४ गते, लुम्बिनी प्रदेशको रुपन्देहीमा वैशाख २५ गते, कर्णाली प्रदेशको सुर्खेतमा वैशाख २६ गते र सुदूरपश्चिमको कैलालीमा वैशाख २७ गते आमसभा गर्ने तयारी गरेको नेता महतले जानकारी दिए ।

प्रेस नोट

सञ्चारकर्मी साथीहरू,
नेपाली कांग्रेसको आमन्त्रणलाई स्वीकार गरी पत्रकार सम्मेलनमा उपस्थित हुनु भएकोमा हार्दिक स्वागत गर्दछु ।
आज मे दिवस । विश्व मजदूर दिवसको उपलक्ष्यमा नेपाल र विश्वभर छरिनुभएका नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइ सबैमा शुभकामना व्यक्त गर्दछु ।
साथीहरु, यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नयाँ चरणमा प्रवेश गरेको छ । निर्वाचन आयोगले यही बैशाख १६ गते शुक्रबार उम्मेदवारहरुको अन्तिम सूची सार्वजनिक गरी १७ गते शनिवार सबैलाई निर्वाचन चिन्ह दिइसकेको छ ।
देशभरका ७ सय ५३ स्थानीय तहका ३५ हजार २ सय २१ पदमा हुने निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट प्रायःसबै पदमा उम्मेद्वारी परेको छ । नेपाली नागरिकले झण्डै सात दशकको अनवरत संघर्षले ल्याएको लोकतन्त्र, गणतन्त्र र संविधानसभाबाट जारी गरिएको संघीयता, समावेशिता र गणतन्त्रसहितको लोकतान्त्रिक संविधानको रक्षाका लागि नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी  केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका बीचमा स्थानीय तहको निर्वाचनमा तालमेल गरेर चुनाव लड्ने सहमति भएको यहाँहरुलाई विदितै छ ।
यस निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निम्नानुसार उम्मेदवारी परेको छ ः(प्रारम्भिक)
क्तसं पद मनोनयन पत्र दर्ता गर्ने उम्मेदवारी फिर्ता कायम रहेका उम्मेदवारहरु
१ प्रमुख २६५ ३ २६२
२ अध्यक्ष ३८२ १० ३७२
३ उपप्रमुख २११ १७ १९४
४ उपाध्यक्ष ३५९ १९ ३४०
५ वडाध्यक्ष ६१३२ ८९ ६०४३
६ महिला सदस्य ६०३७ ९९ ५९३८
७ दलित महिला सदस्य ५८०३ ११२ ५६९१
८ सदस्य १२०६२ २७४ ११७८८
कुल ३१२५१ ६२३ ३०६२८

नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारको विरुद्ध तथा हाम्रो नेतृत्वको गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिनुहुने नेपाली कांग्रेसका अधिकांश साथीहरुले उम्मेदवारी फिर्ता लिनुभएको छ । फिर्ता नलिनेहरुको हकमा उम्मेदवारसहित निजका प्रस्तावक र समर्थकहरुको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४(१३)(ग) बमोजिम समाप्त भई स्वतःपार्टीबाट निष्किाशन हुने प्रावधान क्रियाशील भएको छ । तथापि प्राविधिक कारणले र तालमेलको निर्णय ढिलो भएको कारणले फिर्ता लिन नभ्याउनुभएका तर पार्टीको निर्णय शिरोधार्य गरी पार्टी र गठबन्धनका आधिकारिक उम्मेद्वारहरुको पक्षमा समर्थन गर्दै वक्तव्य जारी गरी चुनावी प्रतिस्पर्धाबाट बाहिरिने साथीहरुको हकमा यो प्रावधान लागू हुने छैन ।
निर्वाचन अभियानको अवस्था
नेपाली कांग्रेसका सबै तहका पार्टी संरचना र पार्टीका भातृ तथा शुभेच्छुक संगठनहरु  पार्टीका आधिकारिक उम्मेदवारहरुको प्रचार–प्रसार अभियानमा जुटिरहेको अवस्था छ । निर्वाचन अभियानलाई मर्यादित,अनुशासित र सुव्यवस्थित ढंगले सञ्चालन गर्न पार्टीले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन परिचालन केन्द्रीय समिति र मेरो संयोजकत्वमा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति गठन गरेको छ ।
पार्टीका महामन्त्री गगन थापाको संयोजकत्वमा गठित घोषणा–पत्र तयारी समितिले स्थानीय तहलाई अधिकार सम्पन्न,सक्षम,सबल,उत्तरदायी,नागरिकमुखी सेवाप्रवाह गर्न सक्ने बनाउने कार्यक्रमसहितको संकल्प तयार पारी सार्वजनिक गरिसकेको छ । यस सङ्कल्पले नेपाली कांग्रेसले निर्माण गर्न चाहेको समाजको तस्वीर प्रतिबिम्बित गरेको छ । समुन्नत नेपालको जग बसाउने कार्यक्रम ल्याएको छ ।
निर्वाचन अभियानलाई व्यवस्थित ढंगले परिचालन गर्न पार्टी केन्द्रीय कार्यालयमा प्रदेश डेस्क स्थापना भएको छ भने उपसभापति धनराज गुरुङ्को संयोजकत्वमा देशव्यापी कार्यक्रम समन्वय उपसमिति गठन भएको छ । पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले समन्वय गर्नुहुने प्रदेश डेस्कमा सहमहामन्त्रीहरु प्रदेश प्रदेशको संयोजक रहनुभएको छ । प्रदेश नं १ को संयोजकमा सहमहामन्त्री जीवन परियार, मधेश प्रदेश संयोजकमा सहमहामन्त्री भीष्मराज आङ्दम्वे, वाग्मती प्रदेश संयोजकमा सहमहामन्त्री फरमूल्लाह मंसुर, गण्डकी प्रदेश संयोजकमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय “डिना”, लुम्विनी प्रदेश संयोजकमा सहमहामन्त्री महेन्द्र यादव, कर्णाली प्रदेश संयोजकमा सहमहामन्त्री बद्री पाण्डे र सुदुरपश्चिम प्रदेश संयोजकमा सहमहामन्त्रीमा किशोरसिंह राठौर रहनुभएको छ ।
केन्द्रीय प्रचार–प्रसार समिति अन्तरगत सल्लाहकार समिति, युवा प्रचार नेटर्वक, सामाजिक सञ्जाल प्रचार–प्रसार उपसमिति , विषयवस्तु उत्पादन उपसमिति,छापामाध्यम समन्वय तथा प्रचार–प्रसार उपसमिति,रेडियो समन्वय तथ प्रचार–प्रसार उपसमिति, टेलिभिजन समन्वय तथा प्रचार–प्रसार उपसमिति, अनलाईन मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमिति, प्रवास समन्वय प्रचार–प्रसार उपसमिति, नेपाली जनसम्पर्क समिति भारत स्थानीय तह निर्वाचन प्रचार–प्रसार उपसमिति, काठमाडौं–जिल्ला सम्पर्क प्रचार–प्रसार नेटवर्क, सांस्कृतिक समन्वय उपसमिति र सूचना संकलन तथा अनुगमन उपसमिति गठन गरी सक्रियताका साथ काम भैरहेको छ ।
निर्वाचन परिचालन समिति अन्तरगत भातृ संघ समन्वय एवं परिचालन उपसमिति, आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति, अनुगमन, मुल्याकंन तथा सुपरिवेक्षण उपसमिति, शुभेच्छुक संस्था समन्वय एवं परिचालन उपसमिति,नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति, जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति र निर्वाचन सुरक्षा निकाय समन्वय उपसमिति गठन गरी संबन्धित उपसमितिहरुले सक्रियतापूर्वक काम गरिरहेका छन् ।
नेपाली कांग्रेसका सबै तहका संरचना अन्तरगत प्रचार–प्रसार र निर्वाचन परिचालन उपसमितिहरु गठन भएका छन् । भातृ तथा शुभेच्छुक संस्थाहरुले पनि केन्द्रदेखि स्थानीय तहसम्म प्रचार–प्रसार र निर्वाचन परिचालन समिति गठन गरेर निर्वाचन अभियानलाई गति दिईरहेका छन् ।
पार्टीले प्रदेश स्तरमा आमसभा गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ । घोषित कार्यक्रम अनुसार प्रदेश १ को मोरङमा वैशाख २१ गते, मधेश प्रदेशको धनुषामा वैशाख २२ गते र बागमती प्रदेशको काठमाडौंमा वैशाख २३ गते,गण्डकी प्रदेशको कास्कीमा वैशाख २४ गते, लुम्बिनी प्रदेशको रुपन्देहीमा वैशाख २५ गते, कर्णाली प्रदेशको सुर्खेतमा वैशाख २६ गते र सुदूरपश्चिमको कैलालीमा वैशाख २७ गते आमसभा हुनेछन् ।
नेपाली कांग्रेसले स्थानीय निर्वाचनलाई अत्यन्त मर्यादित,संयमित र अनशासित ढंगले सञ्चालन गरिरहेको छ । तर प्रतिस्पर्धी राजनीतिक दलका नेताहरुले आचारसंहिताको ठाडो उल्लंघन गरी धज्जी उडाउदा समेत निर्वाचन आयोग मौन रहेको छ । यसमा हामी निर्वाचन आयोगको ध्यानाकर्षण गर्न चाहान्छौ । निर्वाचनको माहोल नेपाली कांग्रेसको पक्षमा छ ।  कांग्रेसको नेतृत्व रहेको गठबन्धनको पक्षमा बनेको छ । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस कमजोर हुँदा स्थानीय निकायहरुको विकास प्रभावित भएको र  स्थानीय निकायको संस्थागत स्वःमूल्यांकनमा नेपाली कांग्रेसले सम्हालेका निकायहरु अब्बल प्रमाणित भएकोले यस निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरु हुनेमा हामी विश्वस्त छौ ।
हामी नेपाली कांग्रेसका सम्पूर्ण तहका साथीहरु,शुभेच्छुक र हामीप्रति आस्थावान सम्पूर्ण मतदाताहरुलाई लोकतन्त्र, गणतन्त्र, समावेशिता, संघीयता, कानूनी राज र संविधानवादका पक्षमा उभिने नेपाली कांग्रेस र कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनका पक्षमा सक्रिय भएर प्रचार प्रसारमा जुटन तथा मतदान गरी विजयी बनाउनुहुन हार्दिक अनुरोध गर्दछौ ।
अभिव्यक्ति,वाक तथा प्रकाशन स्वन्तन्त्रताका पक्षधर सञ्चारकर्मीहरुले सदा झै नेपाली कांग्रेसको पक्षमा जनमत बनाउन सघाउनु हुने हाम्रो विश्वास छ ।
कार्यक्रममा सहभागी हुनुहुने सबैलाई हार्दिक धन्यवाद ।
जय नेपाल !

डा.प्रकाश शरण महत
प्रवक्ता
एवम्
संयोजक
नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ