arrow

इसेवाको अध्यक्षमा बैङ्कर परशुराम कुँवर नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २१ बुधबार
eSewa-mou-2079.jpg

काठमाडौँ। नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्रालिको अध्यक्ष पदमा बैङ्कर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन्। बैङ्क तथा वित्तीय क्षेत्रमा अत्यन्तै सफल मानिएका कुँवरलाई सञ्चालक समितिले कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो। 

नवनियुक्त अध्यक्ष कुँवरले बुधवार नेपाल राष्ट्र बैङ्क भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिए।

बैङ्किङ क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव संहाल्नु भएका कुँवरले सन् १९८६ देखि तत्कालीन ग्रिण्डलेज (हाल स्टाण्डर्ड चाटर्ड) बैङ्क लिमिटेडबाट आफ्नो बैङ्किङ करियर सुरु गरेका थिए। त्यसपछि उनले नेपाल बैङ्क र सिटिजन्स् बैङ्क इन्टरनेशनलमा वरिष्ठ पदमा कार्यरत हुँदै बैङ्क अफ एसिया, जनता बैङ्क र ग्लोबल आइएमइ बैङ्कमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सफलता पूर्वक निर्वाह गरिसकेका छन्। 

सन् २०२० को जुलाईमा मा ग्लोबल आइएमई बैङ्कको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिएका उनले पछिल्ला दिनमा बैङ्क तथा वित्तीय क्षेत्रका विभिन्न तहका कर्मचारीहरूलाई कर्जा र जोखिम सम्बन्धी तालिम प्रदान गर्दै  आएका छन्।

इसेवामा अध्यक्षको रूपमा आफ्नो कार्यभार सम्हाल्दै नवनियुक्त अध्यक्ष कुँवरले भने ‘डिजिटल भुक्तानीको क्षेत्रलाई अगाडी बढाउन इसेवाले नेतृत्वदायी भूमिका निभाउँदै आएको छ। डिजिटल भुक्तानीको क्षेत्रमा पायोनियर मानिएको इसेवामा आबद्ध हुन पाउँदा म निकै नै खुसी छ। मैले इसेवाको कर्पोरेट गभर्नेन्स्, रणनीतिक मूल्य र कम्प्लायन्स्को क्षेत्रमा आफ्ना अनुभव सेयर गर्दै कम्पनीलाई अझ धेरै उचाइमा पुर्‍याउन भूमिका खेल्नेछु।’

स्थापनाकालदेखि नै प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेर इसेवालाई आजको दिनसम्म ल्याइ पुर्‍याउन सफल भएका र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा अत्यन्तै महत्त्वपूर्ण योगदान दिएका अस्गर अलीलाई कम्पनीले विशेष धन्यवाद दिएको छ। उनी पछिल्लो समय इसेवाको बोर्ड अध्यक्षका रूपमा रहेका थिए। बोर्ड अध्यक्षबाट उनले दिएको राजीनामा कम्पनीको सञ्चालक समितिले स्वीकृत गरिसकेको छ। 

इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाई जहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५१ वटा बैङ्क तथा वित्तीय संस्था सदस्य रहेका छन्। 

यी बैङ्कबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा बैङ्क खातामा पठाउन सकिन्छ। मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको सङ्ख्या ६० लाख बढी रहेको  छ। हाल इसेवाका देशभर करिब एक लाख ५० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ