- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरको लगातार तीन हारको यात्रामा पूर्णविराम लागेको छ । लगातार तीन हारपछि पहिलो जित हासिल गर्ने क्रममा बैंगलोरले चेन्नइ सुपर किंग्सलाई १३ रनले पराजित गर्यो ।
बुधबार राति पुनेमा भएको खेलमा महेन्द्रसिंह धोनीको चेन्नईले टस जितेर पहिले ब्याटिङको निम्तो दिएपछि बैंगलोरले ८ विकेटको क्षतिमा १ सय ७३ रन बनायो । महिपाल लोम्रोरले सर्वाधिक ४२ रन जोडे ।
कप्तान फाफ दु प्लेसिसले ३८ तथा पूर्वकप्तान विराट कोहलीले ३० रन जोडे ।
जवाफमा चेन्नईले ८ विकेटको क्षतिमा १ सय ६० रन मात्र बनाउन सक्यो । देभोन कोन्वे सर्वाधिक ५६ रन बनाए । धोनीले केबल ३ बलमा २ रनमात्र बनाएर आउट भए ।
प्लेयर अफ द म्याच हर्षल पटेलले ३५ रन खर्चेर ३ विकेट लिए । यो जितपछि बैंगलोरको १२ अंक भएको छ । चौथो स्थानमा उक्लिन सफल बैंगलोरले प्लेअफ सम्भावना बलियो बनाएको छ ।
पराजित साविक विजेता चेन्नई छ अंकबाट नवौं स्थानमा छ । चेन्नईको प्लेअफ सम्भावना मुस्किलमा पर्दै गएको छ ।
पुछारको २ अंकको मुम्बई इन्डियन्स भने लगभग बाहिरिएको छ ।