arrow

भरतपुरमा गठबन्धनका नेता : जगन्नाथको उम्मेदवारी फिर्ता गराउने कोसिस, पौडेलसँग भेट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
jaganath-poudel.jpg

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरू भरतपुर पुगेका छन् । गठबन्धनले आज यहाँ चुनावी सभा आयोजना गर्दैछ । भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य रेणु दाहाललाई  भरतपुर महानगरपालिकाको प्रमुखमा उठाएको छ । 

सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार नै चितवन आइसकेका छन् । भने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि भरतपुरमा छन् । 

नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट भरतपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलका कारण भरतपुरमा सत्तारुढ गठबन्धनलाई समस्या परेको छ । उनको उम्मेदवारी फिर्ता गराउन कांग्रेस पार्टी भित्रै र  सत्ता गठबन्धनबाट प्रयास भइरहेको छ  तर पनि सफल हुन सकेको छैन । 

बागी उम्मेदवारी दिएका  पौडेलको उम्मेदवारी फिर्ता गराउने कोसिस भइरहेको एकीकृत समाजवादीका अध्यक्ष नेपालले बताएका छन् । चितवन पुगेका नेपालले यस्तो बताएका हुन् ।  राजनीतिक मान्छेले राजनीतिक रूपमा सोच्छ भन्दै उनले आफूलाई केन्द्र विन्दुमा राख्दैन, सिङ्गो पार्टीलाई केन्द्रमा राख्छ भने ।  अध्यक्ष नेपालले भने, “गठबन्धनका दलका नेताले स्वतन्त्र उम्मेदवारी फिर्ता लिनुपर्छ र गठबन्धनको उम्मेदवारको समर्थनमा लाग्नु पर्छ ।”

पौडेलले चुनाव लडेपछि रेणुको जितको लक्ष्यमाथि ठूलो अवरोध खडा भएको छ ।  विद्रोही उम्मेदवार बनेका पौडेलले उम्मेदवारी फिर्ता नलिने बताउँदै आएका छन् ।  यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उम्मेदवारी उठ्न जो कोहीलाई पनि स्वतन्त्रता रहेका जनाउँदै फैसला जनताका हातमा रहेको बताएका छन् ।

कांग्रेस नेताहरूले प्रदेशसभा सदस्य बनाउने, गृह राज्यमन्त्री बनाउने जस्ता अफरसमेत पौडेललाई गरेका थिए । उनलाई फकाउन चितवनका कांग्रेस नेताहरू पनि घरमै पुगेका थिए । तर आफ्नो उम्मेदवारी फिर्ता लिनु भनेको मतदाताको अपमान हुने भन्दै आफू पछि नहट्ने उनको अडान थियो । 

आजै जगन्नाथ पौडेलको टोलीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेट गरेको छ । पौडेल बसेको होटेलमा पुगेको जगन्नाथ को टोलीले आफ्नो कुरा राखेर फर्केको छ । मेयर पद कांग्रेसले नै पाउनुपर्दछ भन्ने अडानमा रहेका चितवन कांग्रेसका नेता कार्यकर्ताहरू मेयर पद माओवादीले पाएपछि असन्तुष्ट छन् ।

पौडेललाई मनाउन गृहमन्त्री बालकृष्ण खाँड आफै पुगेका थिए तर उनलाई पनि फर्काइदिए । गृहमन्त्रीलाई नेता पौडेलले आफू आफ्नो उम्मेदवारीबाट फिर्ता नहुने ठाउँमा पुगेको जानकारी गराएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ