arrow

तीव्रगतिमा गुडाउन र अर्कोलाई उछिन्ने काम नगर्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
accident-news-photo.jpg

बनेपा । बुधवार बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ बढुबेँसीमा भएको सवारी  साधन दुर्घटनामा पाँच जनाको ज्यान गएपछि प्रहरीले चालक र सहचालकका लागि सचेतना अभियान थालेको छ । चालक र सहचालकको असावधानीका कारण हुने गरेको दुर्घटना न्युनीकरणका लागि जिल्लाका प्रहरी र ट्राफिक प्रहरीले चालक र सहचालकलाई सडकमै सचेत गराउन थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख चक्रराज जोशीले बताए ।

सवारी चालक र सहचालक सचेत भएर सवारी चलाउन आग्रह गर्दै उनीहरुलाई तीव्रगति, अनावश्यकरूपमा उछिन्ने प्रवृत्ति र प्रतिस्पर्धा गरी सवारी चलाउने काम नगर्न सचेत गराइएको हो । जिल्लाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयले आज बिहानदेखि बिपी राजमार्गअन्तर्गत धुलिखेलको काभ्रेभञ्ज्याङमा सुरक्षा जाँचको कामलाई तीव्र पारेको छ । “ एकछिनको तीव्रगतिको हँकाइका कारण अकालमा ज्यान जानसक्ने भएकाले हरेक यात्रुलाई सुरक्षित तवरले गन्तव्यसम्म पुर्‍याउनु मेरो जिम्मेवारी हो भन्ने चालकले सोचेर सवारी साधन चलाउन आवश्यक छ”, प्रहरी प्रमुख जोशीले भने ।

गतिलाई ध्यान दिनुस्, एउटा सवारीदेखि अर्को सवारीसाधनबीचमा रोक्ने बेलाको दूरीमा ध्यान दिँदै हतार नगरी चलाउनुस्,  बुधबार भएको दुर्घटना पनि छिटो र हतारका कारण भएको भन्दै उहाँले हरेक चालक र सहचालकलाई ट्राफिक नियम पालना गर्न र यात्रुलाई गन्तव्यसम्म सुरक्षित तवरले पुर्‍याउने काममा जिम्मेवार बन्न आग्रह गरे ।

चालक तथा सहचालकलाई राजमार्गमा तीव्रगतिमा सवारी साधन नचलाउन, प्रतिस्पर्धा नगर्न, ओभरटेक नगर्न र धेरै लामो दूरीको सवारी साधन चलाउँदा ठाउँ-ठाउँमा रोकेर आराम गरेर मात्रै चलाउन  जोड दिँदै प्रहरी प्रमुख जोशीले यस्तो भएको नपाइए कडा कारबाही गर्न मातहतका प्रहरी एकाइ र ट्राफिक प्रहरीलाई निर्देशन दिएको जानकारी दिए । सो घटनापछि जिल्लाका सबै क्षेत्रमा सवारी चालक र सहचालकलाई सचेत गराउन सुरक्षा जाँचको कामलाई तीव्रता दिएकोे छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले हरेक सवारी चालक र सहचालकलाई हतार नगरी चलाउन, सिटबेल्ट अनिवार्य प्रयोग गर्न आग्रह गर्दै यात्रुलाई पनि चालकले मादक पदार्थ सेवा गरी सवारी साधन चलाएको थाहा पाएमा ठाउँ-ठाउँमा रहेका प्रहरी तथा ट्राफिक प्रहरीलाई जानकारी गराउन आग्रह गरे । 

बुधवार भएको दुर्घटनाका विषयमा छानबिन गर्न प्रहरी नायब उपरीक्षक हरि खतिवडाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालयका अधिकृत रामप्रसाद भट्टराई र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सिलवाल रहेको समिति गठन गरी घटनाका बारेमा थप अनुसन्धान कार्य अगाडि बढाइएको छ।उक्त घटनामा परी पाँच जनाको मृत्यु हुनाका साथै १८ घाइते भएका थिए । घाइतेमध्ये १४ को धुलिखेल अस्पतालमा उपचारपश्चात् घर फर्किसकेको र चार जनाको अझै उपचार भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ