arrow

उम्मेदवार जिताउन सीपी मैनालीदेखि रमेश खरेलसम्मको अपिल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
local-level-election-000.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा गुठी आन्दोलनका अभियन्ता सुमन सायमी र उपमेयरमा विद्या श्रेष्ठ महर्जनले स्वतन्त्र उम्मेदवारी दिएका छन् । आज रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफ्नो उम्मेदवारीबारे जानकारी दिएका हुन् । 

सायमी र महर्जनले काठमाडौं महानगरमा रहेका सम्पदा र सभ्यताको संरक्षण गर्ने उद्घोष गरेका छन् । उनीहरुको चुनाव चिन्ह आँखीझ्याल रहेको छ । काठमार्डौं महानगरका मेयरका स्वतन्त्र उम्मेदवार सुमन सायमीले १० वर्ष अघि आफु व्यापारी भएको स्मरण गराउँदै आफ्नो परिवारमा डोजरले आतंक मच्चाएको सुनाए । उनले आफुलाई मात्र नभई देशभर आतंक मच्चाएको महसुस गरेर आन्दोलनको सुरुवात गरेको बताए । व्यापारमा लागेको व्यक्ति एकाएक अन्यायको विरुद्ध आन्दोलनमा होमिन वाध्य भएको उनले स्मरण गराए । 

विश्व सम्पदा सुचिमा परेका सम्पदाहरुको आफुहरुले सुरक्षा गर्दै आएको पनि उनले दाबी गरे । नेपाल विभिन्न भाषाभाषी र संस्कृतिको संगम भएको भन्दै जात्रा देशको पहिचान भएको र जात्रा रोक्न हुँदैन भनेर आवाज उठाएको पनि उनले स्मरण गराए । सडक विस्तारको आन्दोलनमा मुद्दा जितेको भन्दै अन्यायको विरुद्ध आफुले उम्मेदवारी दिन लागेको उनले स्पष्ट पारे । 

सांस्कृतिक मुद्दा, आत्मनिर्भरको कुरा, वातावरणीय सन्तुलनको कुरा उठाउन पर्ने विषय भएपनि नेतृत्वले नसुनेपछि आफुले भुमिको रक्षार्थ उम्मेदवारी दिएको उनको भनाई थियो । 

जनप्रतिनिधिको बोली र व्यवहारमा एकरुपता हुनुपर्ने भन्दै उनले आफ्नो बोली राम्रो नभएपनि व्यवहारमा एकरुपता भएको ठोकुवा गरे । काठमाडौं नेवार समुदायको सभ्यता भएको भन्दै यो सभ्यतालाई विश्वभर चिनाउने उनले प्रतिवद्धता जाहेर गरे । आम मानिसहरुको शिक्षा र स्वास्थ्यमा लाखौंलाख खर्च हुने भन्दै सायमीले शिक्षामा खर्च कम गरेर भ्रष्टाचार रोक्ने पनि जिकिर गरे । 

त्यस्तै, काठमाडौं महानगरका उपमेयरका स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठ (महर्जन)ले काठमाडौंलाई कायापलट गर्नसक्ने नेतृत्वको आवश्यकता रहेको बताइन् । काठमाडौं महानगर देशकै सपना बोेकेको शहर भएको भन्दै उनले महानगरको समृद्ध कला, संस्कृति र सभ्यता अब आफुले जोगाउने जिकिर गरिन् । 

उनले विभिन्न पहिचान बोकेको नेपालमा आफु जन्मेको भन्दै त्यसकोे ऋण तिर्न पनि आफूले उम्मेद्धवारी दिएको बताइन् । आधा आकाश ढाकेको महिलाहरुको नेतृत्व गर्दै आफु अघि बढेको उनले स्पष्ट पारिन् । आफ्नो चुनाव चिन्ह आँखीझ्याल भएको भन्दै उनले आफुलाई मत दिन नगरवासीसँग आग्रह गरिन् । 

उनले महानगर स्वच्छ र हराभरा गराउने लक्ष्या राखेको र महिलाहरुको लागि विशेष प्याकेज लिएर आफु चुनावमा होमिएको बताईन् । महर्जनले आफु निर्वाचित भएमा नगरमा महिला बस, कम्युनिटी क्लिनिक र धार्मिक यात्राको लागि वृद्धवृद्धाको लागि निःशुल्क बस सञ्चालन गर्ने प्रतिवद्धता जनाइन् । 

नेकपा (माले) का महासचिव सिपी मैनालीले भाषा, संस्कृति अभियानलाई बचाउनुपर्ने अबको आवश्यकता रहेको बताए । उनले आफ्नो पार्टीले आगामी बैशाख ३० गते हुने चुनावको लागि केही स्थानमा उम्मेदवार उठाएको बताए । 

काठमाडौंको संस्कृति, सभ्यतालाई बचाउन आवाज उठाउने क्रममा सायमी र विद्याजस्ता समाजसेवीको जन्म भएको उनले स्पष्ट पारे । उनीहरुको अभियानमा आफुहरुको संलग्न र समर्थन रहेको पनि मैनालीले बताए । 

उनले भने,‘नेपाल धेरै जाति बस्ने मुलुक हो । सबै जातिको नाम संविधानमा लेखियोस् । नेपालमा बोलिने मातृ भाषाहरु नेपालका राष्ट्रिय भाषा हुन् । सबैले राष्ट्रिय भाषाको मान्यता पाउनुपर्छ ।’

गुठी आन्दोलन, सडक आन्दोलन तथा विभिन्न आन्दोलनमा सायमी र विद्याले लडेको स्मरण गराउँदै उनले काठमाडौंमा जन्मेको मान्छेलाई मात्र आफ्नो ठाउँको माया र समस्याको ज्ञान हुने पनि उल्लेख गरे । 

‘राजनीतिक आन्दोलन, प्रजातान्त्रिक आन्दोलन, सभ्यता, संस्कृति, र पछि सबैलाई बराबर न्यायको आन्दोलनमा होमिएका परिवार र व्यक्ति स्थानीय तहको नेतृत्वमा आउने निकै खुशीको कुरा हो । उहाँहरुको उम्मेदवारीमा हाम्रो समर्थन छ ।’-उनले भने । 

यसैगरी, नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले ४० वर्ष अघि काठमााडौं संस्कृतिको शहरको पहिचान भएको भन्दै पछिल्लो समय पहिचान मेटिँदै गएको चिन्ता व्यक्त गरे । उनले भने,‘विगत १० वर्षदखि काठमाडौंको संस्कृति, सम्पदा र देशलाई जोगाउनुपर्छ, स्वच्छ बनाउनुपर्छ र विश्वको सुन्दर शहर बनाउने प्रतिवद्धता व्यक्त गरेका उम्मेदवार सायमीलाई हाम्रो पार्टीको समर्थन छ ।’ खरेलले काठमाडौं महानगरवासीले भोट दिएर पठाएकाहरु सबै कुशासनमा लिप्त भएको टिप्पणी गरे । 

उनले सायमीको उम्मेदवारीलाई समर्थन गर्दै भने,‘मैले सायमीको आँखामा आँखा जुधाएर हेरें, उहाँमा विल पावर देखें, इमानदारिता देखें, अब काठमाडौंले गतिलो मेयर पाउनेमा विस्वस्त छु ।’ उनले मेयरका उम्मेदवार सायमीमा काडमाडौंलाई समृद्ध बनाउनसक्ने भीजन देखेको उल्लेख गर्दै काठमाडौं महानगरको विकास हुनेमा आफु ढुक्क भएको सुनाए । 

खरेलले जनताले जिताएर पठाएका प्रतिनिधिहरु कोभिड महामारीमा सोल्टी होटलमा गएर बसेको भन्दै आम जनताहरुले भने संकटको बेलामा सामान्य स्वास्थ्य सुविधा पनि नपाएको गुनासो पोखे । 

उनले भने,‘अब राजधानी, राजधानी नै हुनुपर्छ । मेरो छोराले काठमाडौंमा स्वस्थ्य हावा र स्वस्थ सास फेर्न पाउनुपर्छ । जनताले आत्माको प्रयोग गरेर मत दिनुपर्छ ।’ उनले आफ्नो पार्टीले सक्षम व्यक्तिलाई मात्र भोट हाल्न अपिल गर्ने पनि स्पष्ट पारे । 

सत्ता गठबन्धनको चुनावी तालमेलप्रति असन्तुष्टि राख्दै खरेलले देश लुट्नको लागि गठबन्धन गरिएको आरोप लगाए । खरेलले सायमीले जनतलाई बेईमानी नगर्ने ठोकुवा गर्दै बेइमानी गरे आफु राजनीतिबाट बाहिरिने पनि स्पष्ट पारे । 

त्यस्तै, नेवा अभियानका अभियन्ता तथा युवा नेता अनिश वैद्यले सडक विस्तारले पीडित भएपछि समाजसेवी सुमन सायमीको उदय भएको बताए । उनले सडक विस्तारको मुद्दा न्यायालयले फैसला गरेपनि कार्यान्वयनमा नआएपछि ठुलो आन्दोलन गर्न परेको सुनाए । 

उनले अहिले काठमाडौंको मेयरका उम्मेद्धवार सायमीले सरकारले ल्याएको गुठी विधेयकको विरुद्ध लामो समय लडेको जिकिर गरे । काठमाडौंलाई सफा, स्वच्छ र हराभरा बनाउन सायमीलाई नै नगरवासीले मत दिनुपर्ने उनको मत छ । अहिलको जनप्रतिनिधबाट पाएको आश्वासनको विरुद्ध सायमीलाई उम्मेदवार बनाइएको उनले स्पष्ट पारे । 

सायमी नै महानगरको विकासको लागि उपयुक्त भएको भन्दै उनले बौद्धिक जगतले नचिनेको पात्र सायमी भएको बताए । सम्पुर्ण महानगरका जनताले आँखा चिम्लेर केही नसोची अभियन्ता सायमीलाई भोट हाल्न पनि उनले अपिल गरे । 

उनले भने,‘जनतालाई आश्वासन देखाएर जनताले मत दिएर जिताइएका जनप्रतिनिधिहरु नेताहरुको कठपुतलीमात्र भएका छन् । स्थानीय तहसँग रगत मिसिएका सायमीजस्तो मेयर पाउनु काठमाडौं नगरवासीको भाग्य उदय हुनु हो ।’ 

त्यस्तै, किराँत मोर्चा नेपालका महासचिव तेण्डुक निबक किराँतले आफ्नो पार्टीले काठमााडौं महानगरका उम्मेदवारहरु सुमन सायमी र विद्यालाई मत दिन आग्रह गरेको बताए । गुठी आन्दोलनमा ठुला पार्टीले सहयोग नगरेको उनले आरोप लगाए । 

पुराना जनप्रतिनिधिको कामप्रति असन्तुष्टि राख्दै काठमाडौंवासीको टाउकोमा ऋण थुपार्न पुराना पार्टीका उममेदवारलाई भोट दिनुपर्ने बताए । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वको सरकारले सांस्कृतिक शहरलाई बुलडोजर लगाएर क्षतविक्षत बनाएको उनले आरोप लगाए । 

सम्पन्न नेपाल बनाउने योजना बनाएका र काठमाडौंमा भएको फोहोरको ढिस्को फाल्नको लागि सायमीलाई भोट दिनपर्ने उनले धारणा राखे । उनले कयौपटक अन्य पार्टीलाई हेरेको भन्दै यसपटक सायमी र विद्यालाई मत दिन आग्रह गरे । 

सम्पदा संरक्षण महाअभियानका संयोजक यादवलाल कायस्थले काठमाडौंमा भगवानको मुर्ति चोरी हुँदै आएको र त्यस विषयमा कसैले आफुहरुको कुरा नसुनेको दुःखेसो पोखे । काठमाडौं महानगरवासीलाई भाषामा समस्या रहेको उल्लेख गर्दै महानगरवासीको समस्या बुझ्ने मेयरको आवश्यकता रहेको उनले आंैल्याए । 

मेयरका उम्मेदवार सायमी र उपमेयर विद्याले विश्वभरलाई देखाउनलायक काठमाडौं शहर बनाउने पनि उनले ठोकुवा गर्दै निर्वाचनमा अमूल्य मत दिएर जिताउन पनि अपिल गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ