arrow

जनकपुरमा जसपाको साख भत्कदै, दुई स्वतन्त्रले खल्बलाए आँकलन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २३ शुक्रबार
279754060_3338907996332603_7210082281595697911_n.jpg

जनकपुर । महानगर र उपमहानगर बाँडफाँड गर्दा सत्तारुढ गठबन्धनसँग वीरगञ्ज महानगरपालिका र जनकपुर उपमहानगरपालिकामा मेयर पाउनै पर्ने अडान जनता समाजवादी पार्टी जसपाले राखेको थियो । वीरगञ्ज र जनकपुर नपाए गठबन्धनमै नबस्नेसमेत धम्की जसपाका नेताहरुले दिएका थिए । माग गरेअनुसार जसपाले वीरगञ्ज र जनकपुरमा मेयर पद पायो पनि । 

जसपाका कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवको विश्वास थियो, ‘वीरगञ्ज र जनकपुर हामीले सजिलै जित्छौं । हामीले जित्ने ठाउँमा अरुलाई किन दिने ?’ त्यसैले यादवले वीरगञ्ज र जनकपुरमा अडान नै राखे । तर जनकपुरको वस्तुस्थिति उनले सोचेको जस्तो छैन । 

२०७४ को  निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट जनकपुरको मेयरमा लालकिशोर साहले चुनाव जितेका थिए । उनी पार्टी परिवर्तन गरी जसपामा प्रवेश गरेका छन्  । 

जसपाले उनैलाई मेयरको टिकट दिएको छ । पुरानै मेयरलाई टिकट दिएपछि यसपटक पनि साहले जित्छन् भन्ने विश्वास जसपाको केन्द्रीय तहका नेताहरुको छ । तर अहिले जनकपुरका दुई जना स्वतन्त्र उम्मेदवार बलराम महतो र मनोज साहले चुनावी आँकलन  र अनुमानलाई पूरै खलबल्याएका छन् । 

मनोज साह नेपाली कांग्रेसका बागी उम्मेदवार हुन । उनी नेपाली कांग्रेस जनकपुरको लोकप्रिय नेता मानिन्छन् । बलराम महतो चर्चित उद्यमी व्यवसायी हुन । यी दुई नेताको चुनाव प्रचार प्रसार शैली आशालाग्दो छ । यिनीहरु घर घरमा पुगेका छन् । 

यता लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकारिणी सदस्य तथा जनकपुर लोसपाका नेता राजिव झा भन्छन्, ‘जनकपुरमा दुई स्वतन्त्र उम्मेदवार र जसपाका उम्मेदवारलाई पन्छ्याउँदै लोसपाका मेयरका उम्मेदवार मनोज चौधरीले चुनाव जित्नेमा शंका नगरौ ।’ 

लोसपाले चुनाव जित्ने आधार प्रस्तुत गर्दै उनले भने, ‘पछिल्लो पटक चुनाव जितेका लालकिशोर साहले पार्टी फेर्दा उनले जम्मा एक जना सदस्यलाई मात्र जसपामा लगे । हामीले जितेका ७४ सिटमध्ये ७२ जना अहिले पनि हामीसँगै हुनुहुन्छ ।’

२०७४ को प्रतिनिधिसभाको निर्वाचनमा यस क्षेत्रबाट लोसपाका नेता राजेन्द्र महतोले चुनाव जितेका थिए । त्यसैले पनि जनकपुरमा लोसपा विजयी हुने झाको विश्वास छ । तर झाको भनाइसँग कांग्रेस र जसपाका नेताहरु सहमत छैनन् । नेपाली कांग्रेस जनकपुरका एक नेताले भने, ‘जनकपुरमा नेपाली कांग्रेसका स्थानीय नेताहरु खुल्ने बित्तिकै मनोज साहले चुनाव जित्नुहुन्छ । निश्चित हो । एक दुई दिन पछि उहाँहरु खुल्नु हुनेछ भन्ने हामीलाई पूरा विश्वास छ ।’

यति हुँदा हुँदै पनि जसपाका उम्मेदवार साह प्रतिष्पर्धामै छैनन् भन्न सकिन्न । उनीसँग पुराना कार्यकर्ताहरु र जसपाको भोट कायमै छ । जसपाका  क्याडर र साहले आफैंले तानेको भोट उनको लागि प्रतिष्पर्धाको लागि आधार हो । त्यसमा पनि जसपाका नेताहरूले जनकपुरलाई प्रतिष्ठाको विषय बनाएका छन् ।  

जसरी पनि साहलाई जिताउनै पर्ने दबाब उनीहरुमाथि परेको छ । जसपाले आफ्ना सबै केन्द्रीय सदस्यहरुलाई चुनावसम्म आफ्नो आफ्नो क्षेत्र नछाड्न उर्दी नै जारी गरेको छ । त्यसैले यो एक दुई दिन साहको लागि महत्वपूर्ण दिन हुनेछ । ‘चुनावको मुखसम्म परिस्थिति फेरिन पनि सक्छ । अहिले केही भन्न सकिन्न’ एक नेताले भने । 

एमालेका उम्मेदवार हिरा साह भने जनकपुरमा त्यति बलियो छैनन् । एमाले विभाजन भई नेकपा (एकीकृत समाजवादी ) गठन भएपछि यहाँ एमालेको भोट एक हुन सकेको छैन । एमालेको झण्डै एक तिहाइ भोट समाजवादी पार्र्टीतिर गएको अनुमान छ । 

उपमेयरमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी नेतृ किशोरी साह, लोसपाबाट रिता मिश्र तथा एमालेबाट रुना झाले उम्मेदवारी दिएका छन् । उपमेयरमा टिकट पाउनको लागि रुना एक दिन अघिमात्र नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेकी थिइन् । उपमेयर पदमा नेपाली कांग्रेसका निर्मल चौधरीले बागी उम्मेदवारी दिएका छन् । 

जनकपुरमा यसपटक ८७ हजार ६ सय २४ मतदाता छन् । अघिल्लो पटक झण्डै २१ हजार भोट ल्याएर तत्कालीन राजपाका उम्मेदवार साहले चुनाव जितेका थिए । यसपटक कसले चुनाव जित्छ ठयाम्मै यसै भन्न सकिने अवस्था छैन । यसको लागि अझै केही दिन कुर्नुपर्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ