arrow

देशका ७५३ वटै निकायका भाषाको तथ्याङ्क सङ्कलित पुस्तक सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २३ शुक्रबार
book-publish2022.jpg

काठमाडाैं । नेपालमा बोलिने १४० भाषाका तथ्याङ्क सङ्कलित पुस्तक नेपालका भाषा र सरकारी कामकाज पुस्तक सार्वजनिक भएको छ । पुस्तकका लागि त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान केन्द्रीय विभागका भीम नारायण रेग्मीको नेतृत्वमा नेपालका ७५३ वटै स्थानीय निकायमा बोलिने भाषा सम्बन्धी तथ्याङ्क सङ्कलन गरिएको हो ।

हामीले बोल्ने भाषाबारे समेत हामीले धेरै जानकारी थाहा नहुन सक्छ । यस सन्दर्भमा केही अन्दाज त लगाइन्छ तर तार्किक छलफल भने हुने गरेको छैन। 

हामी तथ्याङ्कलाई कि त आँखा चिम्लेर विश्वास गर्छौ कि त आँखा चिम्लेर अविश्वास गर्छौ भन्ने भनाइ छ । तर, जब तथ्याङ्क सरल हुन्छ, त्यो निक्कै नै रोचक हुन्छ। 

लेखक रेग्मीले यो किताबमा नेपालका भाषा सम्बन्धी तथ्याङ्कलाई निक्कै सरलीकरणका साथ प्रस्तुत गरेका छन्। यो पुस्तकको अनुसन्धानमा काम गर्दै आइरहेको संस्था फ्याक्स नेपालले पुस्तक प्रकाशन गरेको हो ।

नेपालका भाषा र सरकारी कामकाज शीर्षकको यो पुस्तकको वितरण वि-लिडरेले गर्दै छ। ३३० पेजको यो पुस्तकको मूल्य ११ सय तोकिएको छ।

नेपालमा भाषाको इतिहास र वर्तमान, प्रदेश र स्थानीय तहमा बोलिने भाषा, स्थानीय तहको मातृभाषा, भाषा नीति र नेपालको सरकारी कामकाज, सरकारी कामकाजमा भाषाको प्रयोग र उपयुक्त विकल्प जस्ता अनुसन्धान पश्चात् तार्किक र तथ्यपरक सामाग्री यो किताबमा समेटिएको छ भने। यसमा ७५३ वटै निकायमा बोलिने भाषा सम्बन्धी विस्तृत तथ्याङ्क समेटिएको छ। यो पुस्तक किताब यात्रा, बुक-कर्नर, थुप्रै डट कम लगायत अनलाइन बाट पनि मगाउन सकिन्छ।



नयाँ