गठबन्धनको लगातार चौथो दिन चुनावी सभाः आज बुटवलमा देउवासहित नेपाल लगायतका नेताले सम्बोधन गर्दै
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २४ शनिबार
522
Shares
बुटवल । पाँच दलीय गठबन्धनको संयुक्त आयोजनामा आज बुटवलमा चुनावी सभा हुँदैछ । बिहान १० बजे बुटवलको देवीनगर चौपारीमा आयोजना हुने चुनावी सभामा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले सम्बोधन गर्ने गरी कार्यक्रमको तयारी गरिएको छ ।
स्थानीय निर्वाचनमा चुनावी एकता गरी सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा एक ठाउँमा उभिएपछि अहिले कार्यकर्तामा उत्साह छाएको छ । चुनावी एकतालाई परिणाम दिन र कार्यकर्तालाई अझै बढी उत्साही बनाउनको लागि सबै दलका नेताहरुले सम्बोधन गर्ने गरी कार्यक्रम तय गरिएको नेपाली कांग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सचिव प्रजापाल गिरीले बताए ।
देउवासहित पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँण, माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेश ईञ्चार्ज चक्रपाणी खनाल बलदेव, राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश प्रमुख बोमबहादुर खत्री, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नवराज सुवेदी लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।
कार्यक्रममा एक लाख बढीको सहभागिता हुने अपेक्षा गरिएको सचिव गिरीले बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पूववर्ती सरकारले दुई पटकसम्म संसद विघटन गरेर मुलुकमा प्रतिगमन ल्याउन खोजेको भन्दै त्यसविरुद्ध संविधान र व्यवस्थाको रक्षाको लागि पाँच दलीय गठबन्धन गरेका थिए ।
संविधान र व्यवस्था रक्षा तथा प्रतिगमनलाई परास्त गर्नको लागि अहिले जसरी पनि गठबन्धन दलका उम्मेदवारले जित्नुपर्ने र त्यसको लागि गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरिएको क्षेत्रीय सचिव विमलराज भट्टराईले बताए ।
पाँच दलीय गठबन्धनले लगातार चौथो दिन चुनावी सभाको आयोजना गरेको हो । बुधबार विराटनगर, बिहीबार चितवन र शुक्रबार काठमाडौंमा संयुक्त सभा भएकामा आज बुटवलमा हुन लागेको हो ।