arrow

गठबन्धनको आयु लामो हुन्छ – तरुण दल अध्यक्ष गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २६ सोमबार
279911294_1064551384416767_2676394468215577480_n.jpg

पर्वत । पर्वतको कुश्मा नगरपालिका ८ चुवामा तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङलाई बधाई तथा सम्मान कार्यक्रम गरिएको छ । गुरुङ केन्द्रिय अध्यक्ष बनेकोमा नेपाली कांग्रेस वडा कार्यसमिति चुवाले सम्मान सहित बधाई ज्ञापन गरेको हो । 

पर्वतमा लामो समयसम्म राजनीति गर्दै तरुण दलको जिल्ला अध्यक्ष, केन्द्रीय कोषाध्यक्ष हुँदै हाल अध्यक्ष बनेकामा गुरुङलाई कांग्रेस चुवाले सम्मानसहित बधाई ज्ञापन गरेको हो । 

नेपाली कांग्रेस कुश्मा नगरपालिका ८ चुवाका सभापति लक्ष्मण पौडेलको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथीसमेत रहेका तरुण दल अध्यक्ष गुरुङले गठबन्धनको आयु लामो हुने बताए । 

उनले देशलाई संकटबाट जोगाउन, संविधानको रक्षा गर्न, देशको लोकतन्त्र जोगाउन गठबन्धन बनेको बताउँदै यसको आयु लामो हुने बताएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली निरकुंश बन्न थालेपछि गठबन्धन बनेको कुरालाई पाँच दलले बुझेको बताउँदै गुरुङले गठबन्धन विशेष परिस्थितिले बनेको बताए ।

स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउन उनले नेपाली कांग्रेस र तरुण दलका कार्यकर्तालाई आह्वान गरे । गठबन्धनले हार्यो भने देशले हार्छ भन्ने कुरा सबैले बुझिसकेको गुरुङले बताए ।

ओली सरकार हुँदा कोभिडका बिरामीहरुले सिटामोलसमेत खान नपाएको स्थिति बनेको र कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि खोप अभियानले तीव्रता पाएको उनले स्मरण गरे । 

कोरोनाको बेला औषधीमै कमिशन खाने काम गरेको भन्दै उनले एमाले नेतृत्वको आलोचना गरे । तरुण दलका अध्यक्ष गुरुङले नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउने काममा जुट्न कांग्रेसका कार्यकर्ताहरुलाई आग्रह गरे । 

पर्वतका सातै पालिका र ६१ वडा मात्रै नभै देशभरका सबै पालिका र वडामा गठबन्धनलाई जिताउनका लागि तरुण दलले रचनात्मक भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेपाली कांग्रेस पर्वतका उपसभापति डा चुडामणी शर्मा, क्षेत्रीय सभापति राजकुमार क्षेत्री, चुवाका वडाध्यक्षका उम्मेदवार सुरेन्द्र केसी, नेपाली कांग्रेस चुवाका सहसचिव राजेश शर्मा, कार्यक्रम मुल संयोजक देवीप्रसाद पोखरेल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सचिव ज्ञानेन्द्र केसीले गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ