arrow

भगवान् बुद्धको गहन उत्तर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २७ मंगलबार
Buddha.advice2_.jpg

काठमाडौं । एक समय महात्मा बुद्ध आफ्नो शिष्यहरूलाई सत्सङ्ग सुनाइरहनु भएको थियो । उहाँका प्रिय शिष्य आनन्दले हात जोडेर प्रार्थना गर्दै भन्छन्, 'गुरु महाराज! तपाईँले धेरै समयदेखि मानिसहरूलाई ज्ञानयुक्त मार्मिक कुराहरू सुनाउँदै आइरहनु भएको छ, अहिलेसम्म कति मानिसहरूले मुक्ति, मोक्ष मागेका छन् ? कति मानिसहरूले ईश्वरको दर्शन गर्ने मनको जिज्ञासा प्रकट गरेका छन् ?'

भगवान् बुद्धले भन्नुभयो, 'आनन्द! यसको उत्तर म तिमिलाई भोलि दिनेछु ।' अर्को दिन जब शिष्य आनन्द त्यहाँ पुगे, तब भगवान् बुद्धले भन्नुभयो, 'आनन्द! तिमि शहरको एक-एक घरमा गएर मानिसहरूलाई तिमीलाई के चाहिन्छ भनेर सोध ।'

आज्ञाको पालन गर्दै आनन्द शहरको एक-एक घरमा गएर ढोका ढकढकाउँदै मानिसहरूलाई सोध्छन्,' तपाईँलाई के चाहिन्छ?' तब मानिसहरूले भने, 'मेरो घरमा धन छैन, गरिब छौँ कृपा भए हामी पनि धनी बन्न चाहन्छौँ ।'

अर्को घरमा आनन्द पुगेर सोध्छन्, उनीहरू भन्छन्, 'हाम्रो परिवारमा छोरा छैन, यदि छोरा जन्मियो भने हाम्रो घरको दीपक बन्ने छ ।' कसैले भन्छन्, 'मेरो बिहे भएको छैन, यदि मेरो बिहे भयो भने मेरो घर पनि बस्ने छ अनि म सुखी हुनेछु ।'

फेरि अर्को घरका मानिसले भन्छन्, 'यदि मेरी छोरीको लागि एउटा राम्रो योग्य वर मिल्यो भने हामी सुख- चैनले सुत्न सक्नेछौँ ।' यसै गरी कसैले घर, कसैले जमिन- सम्पत्ति, कसैले व्यापार राम्रो चलोस्, बढोस् भनेर सांसारिक कामनामा वस्तुहरू मात्र मागे ।

अन्त्यमा आनन्द भगवान् बुद्ध भएको ठाउँमा निराश हुँदै फर्किन्छन् । बुद्धलाई प्रणाम गर्छन् र भन्छन्, 'प्रभु! कसैले पनि मोक्षको, भगवान्को दर्शनको कामना गरेनन् ।'

तब भगवान् बुद्धले मुस्कुराउँदै भन्नभयो, 'आनन्द! यही तिम्रो प्रश्नको जवाफ हो, जुन तिमिलाई स्वयं मिल्यो । कति वर्षदेखि मानिसहरूले मेरो सत्सङ्ग-विचारहरू सुनिरहेका छन्, तर कसैले पनि भगवान्को दर्शनको, मोक्षको कामना मनमा गर्दैनन्, मानिसहरू सधैँ संसारको भौतिक चीजहरूकै मात्र कामना गरिरहन्छन् भने, तिमि स्वयं विचार गर कि उनीहरूको उद्धार कसरी हुनेछ ?'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ