arrow

गुजरात बन्यो जारी आईपीएलको प्लेअफमा पुग्ने पहिलो टिम 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २८ बुधबार
gujrat-titans-ipl-2022.jpg

काठमाडौं । लखनउ जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ ।

मंगलबार राति गुजरातले दिएको १४५ रनको लक्ष्य पछ्याएको लखनउ १३ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटियो । लखनउका दिपक होडाले सर्वाधिक २७ रन जोड्दा क्विन्टन डी ककले ११ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।  गुजरातका राशिद खानले ४ विकेट लिए ।

यसअघि पुनेमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १४४ रन जोडेको थियो ।  गुजरातका शुबमन गीलले सर्वाधिक ६३ रन बनाए । यस्तै डेभिड मिल्लरले २६ रनको योगदान गरे ।

जितसँगै गुजरात १२ खेलबाट १८ अंक जोडेर शीर्ष स्थानमा छ  । लखनउ १२ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा  छ ।  

आईपीएलमा नयाँ टोलीको रुपमा भित्रिएका गुजरात र लखनउको पहिलो वर्ष नै उच्च लयमा छन् । सम्भवतः अर्को खेलपछि लखनउ पनि प्लेअफमा पुग्नेछ । 

यसैबीच आईपीएलका सर्वाधिक सफल टिमहरु मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स भने यसपालि प्लेअफमा पुग्ने सम्भावना छैन । मुम्बई पाँच पटकको तथा चेन्नई चार पटकको उपाधि विजेता हो । 



नयाँ