- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाल मानव धर्म सेवा समितिले २५६६औं बुद्ध जयन्तीको अवसर पारेर आज काठमाडौंमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । समितिले आज बिहान ललितपुरको बुलु, चापागाँउ देखि ठेचोसम्म बृहत शान्ति र्याली निकालेको छ । साथै दिउँसो सत्सङ्ग कार्यक्रमको आयोजना गरेको छ ।
सत्सङ्ग कार्यक्रममा बोल्दै नेपाल मानव धर्म सेवा समिति केन्द्रीय प्रभारी महात्मा चमेली बाईजीले पञ्चशीलको पालना गरेमा चित्तबृद्धि शुद्ध हुने र यसले नै मानिसलाई महान् बनाउने बताइन् । अहिले सबैले शान्ति खोजिरहेको तर शान्ति पाउने बाटो सही हुनुपर्नेमा पनि उनले जोड दिइन् । महापुरुषहरूको वाणीलाई आत्मासाथ गरे जन्म मरणको चक्रमा पर्नु नपर्ने कुरालाई जोड दिँदै यसका लागि सबैलाई सद्गुरुको साथमा जान आग्रह गरिन् ।
कार्यक्रममा बोल्दै नारायणी अञ्चलकी प्रमुख पुनीत बाईजीले तत्त्वलाई बोध गरेको कारण नै बुद्धले बुद्धत्व प्राप्त गरेको प्रसङ्गको चर्चा गरिन् । बुद्धमा मात्रै नभएर त्यो बुद्धत्व सबैमा भएको तर त्यसलाई सबैले बोध गर्नुपर्नेमा उनले जोड दिइन् ।
सत्सङ्ग कार्यक्रममा बोल्दै पुनीत बाईजीले सम्पत्तिले कसैलाई सुख नदिने भएकाले मनको शान्ति खोज्नुपर्ने र यसका लागि मनलाई स्थिर बनाउनुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा विभिन्न ठाउँबाट आएका बाईजी, भन्तेहरूको सत्सङको साथै भजन, नृत्य, नाटक पनि देखाइएको थियो । नेपाल मानव धर्म सेवा समितिले मानव कल्याणको क्षेत्रमा विगत ५ दशकदेखि सामाजिक, आध्यात्मिक गतिविधिहरू गदै आइरहेको छ ।