- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नवप्रवेशी गुजरात टाइटान्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति कोलकातामा भएको पहिलो क्वालिफायरमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरात फाइनलमा पुगेको हो ।
राजस्थानले दिएको १८९ विजयीि लक्ष्य गुजरातले १९.३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको हो । गुजरातको जितमा डेभिड मिलरले विस्फोटक ब्याटिङ गर्दै ३८ बलमा अविजित रहँदै ६८ रन बनाए । त्यस्तै कप्तान हार्दिक पाण्डेयले कप्तानी इनिङ्स खेल्दै २७ बलमा अविजित रहँदै ४० रन जोडे ।
यस्तै सुबमन गिल र म्याथ्यु वेडले समान ३५–३५ रन बनाए । राजस्थानका ट्रेन्ट बोल्ट र ओबेड म्याकक्वेले १–१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १८८ रन जोडेको थियो । राजस्थानका लागि जोस बट्लरले ५६ बलमा ८९ रन बनाए ।
कप्तान सन्जु सामसनले २६ बलमा ४७ रन जोड्दा देवदुत पडिकलले २८ रन बनाए ।
गुजरातका मोहमद शामी, यश डयल, साई किशोर र हार्दिक पाण्डेयले एक एक विकेट लिए ।
यो जितसँगै गुजरातले डेब्यु सिजनमै फाइनलमा स्थान बनाएको हो ।
अब राजस्थानले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नु पर्नेछ । इलिमिनेटरको विजेतासँग राजस्थानले खेल्नेछ ।
इलिमिनेटरमा आज कोलकातामै नवप्रवेशी लखनउ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।
यसपटक १० टिम सहभागी भएकामा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स र चार पटकको च्याम्पियन चेन्नई सुपर किंग्स पुछारमा रहेर प्लेअफबाट बाहिरिएका थिए ।