arrow

राजस्थान आईपीएलको फाइनलमा, उपाधि भिडन्त गुजरातसँग आइतबार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १४ शनिबार
ipl-t20-rajasthan.jpg

काठमाडौं । राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ टी–२० क्रिकेट प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वालिफायर्स खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गर्दै राजस्थान फाइनलमा पुगेको हो । 

नरेन्द्र मोदी क्रिकेट रंगशालामा बैंगलोरले दिएको १५८ रनको लक्ष्य राजस्थानले १८.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । राजस्थानको जितमा ओपनर जश बटलरले १०६ रनको अविजित इनिङस् खेले । बटलरले ६० बलमा १० चौका र ६ छक्का प्रहार गरे । यस सिजन बटलरको यो चौथो शतक हो ।

यसबाहेक कप्तान सन्जु सामसनले २३ रन र यसवी जैसवालले २१ रन बनाए । बैंगलोरका जस हेजलवुडले दुई विकेट लिँदा वनिन्दु हसरंगाले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङमा आएको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रनको योगफल तयार गरेको थियो । बैंगलोरका रजत पटिडरले सर्वाधिक ५८ रन बनाएका थिए । यसबाहेक बैंगलोरको खातामा कप्तान फाफ डु प्लेसिसले २५ र ग्लेन म्याक्सवेलले २४ रन जोडेको थिए ।

राजस्थानका प्रसिद्ध क्रिष्णा र ओबेड म्याकोनीले समान ३ विकेट लिए । यस्तै ट्रेन्ट बोल्ट र रविचन्द्रन आश्विनले एक–एक विकेट लिए । राजस्थानले उपाधिका लागि आइतबार गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो क्वालिफायर्समा राजस्थानलाई पराजित गर्दै गुजरात फाइनलमा पुगेको हो । पहिलो सहभागीतामै गुजरात फाइनलमा पुगेको हो । राजस्थान भने पहिलो संस्करणको विजेता हो । 



नयाँ