arrow

डेब्युमै गुजरातलाई आईपीएलको उपाधि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १६ सोमबार
ipl-t20-2022-gujrat-winner.jpg

काठमाडौं । यसै सिजन ‘डेब्यु’ गरेको गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)  टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । गुजरातले आइतबार राति राजस्थान रोयल्सलाई सात विकेटले पराजित गर्दै आइपीएलको १५औं सिजन आफ्नो नाममा लेखायो । यससँगै गुजरात आईपीएलको उपाधि जित्ने सातौं टिम बनेको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा राजस्थानले प्रस्तुत गरेको एक सय ३१ रनको लक्ष्य गुजरातले १८.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । गुजरातको जितमाा सुभमन गिलले अविजित रहँदै सर्वाधिक ४५ रन बनाए । गिलले ४३ बलमा तीन चौका र एक छक्का प्रहार गरे । 

अलराउन्डर कप्तान हार्दिक पाण्डेयाले ३२ बलमा ३४ रन बनाए । यस्तै आक्रामक ब्याटिङ गर्दै टिमलाई जितसम्म डोहोर्याएका डेभिड मिलरले १९ बलमा तीन चौका र एक छक्कासहित ३२ रन बनाए ।

राजस्थानका ट्रेन्ट बोल्ट, प्रसिद्ध क्रिष्णा र युजवेन्द्र चहलले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३० रनको योगफल तयार गरेको थियो । राजस्थानका ओपनर जस बटलरले सर्वाधिक ३९ रन बनाएका थिए । ३५ बलको सामना गरेका बटलरले पाँच चौका प्रहार गरेका थिए । 

यसबाहेक राजस्थानको खातामा यसवी जैसवालले २२, कप्तान सन्जु सामसनले १४ रनसँगै सिमरन हेटमायरले र ट्रेन्ट बोल्डले समान ११ रन बनाएका थिए ।

राजस्थान सामु कसिलो बलिङ गरेको गुजरातका कप्तान पाण्डेयाले ३ विकेट लिए । आइपीएल करियरमै सबैभन्दा किफायती बलिङ गरेका उनले ४ ओभरमा १७ रन खर्चिएका थिए ।

यसबाहेक गुजरातका रविश्रीनिवासन साइ किशोरले २ विकेट लिँदा यस दयाल र रासिद खानले समान १ विकेट लिए ।

पाण्डे प्लेयर अफ द फाइनल बने । 

प्रतियोगितामा सर्वाधिक आठ सय ६३ रन प्रहार गरेका राजस्थानका जस बटलरले ‘ओरेन्ज क्याप’ पाए । यस्तै, राजस्थानकै युजवेन्द्र चहलले ‘पर्पल क्याप’ पाए । उनले १७ इनिङमा २७ विकेट लिए ।

आइपीएलको १५औं सिजन समाप्त हुँदासम्म मुम्बई इन्डियन्सले सर्वाधिक पाँच पटक, चेन्नई सुपर किंग्सले चार पटक, कोलकाता नाइट राइडर्सले दुई पटक उपाधि जितेका छन् । 

यस्तै, गुजरातसँगै, राजस्थान, सनराइजर्स हैदराबाद र डेकेन चाजर्सले समान एक पटक आइपीएलको उपाधि जितेका छन् । पहिलो संस्करणको उपाधि राजस्थानले जितेको थियो । 

हालै निधन भएका अष्ट्रेलियाका स्पिन बलर शेन वार्नको कप्तानीमा राजस्थानले उपाधि जितेको थियो । यसपालि राजस्थानका खेलाडीहरुले उपाधि जितेर वार्नलाई समर्पण गर्ने बताएका थिए । तर सफल हुन भने सकेनन् । 

हृदयाघातका कारण वार्नको निधन भएको थियो । 



नयाँ