- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
म्याग्दी । पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा आज बिहान भेटिएको छ ।
सेनाले भौतिक रूपमा विमान दुर्घटना स्थल पत्ता लगाएको नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले बताएका छन् ।
यता थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले लेतेका यार्सागुम्बा खोज्न गएका सुमित गौचनले दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जहाजको खबर गर्दै तस्बिर पठाएको जानकारी दिए ।
मानापाथी हिमालको फेदीमा रहेको पहाडमा टुक्राटुक्रा परेको अवस्थामा टाढाबाट जहाज देखिएपछि सुरक्षाकर्मी र स्थानीयवासीको टोली त्यसतर्फ लागेको गाउँपालिकाका अध्यक्ष गौचनले बताए ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले तीन वटै सुरक्षा निकायका टोली घटनास्थलमा पुगिसकेकाले औपचारिक पुष्टि गर्न बाकी रहेको बताए ।
कोवाङदेखि दुई घण्टा पैदल हिँडेर याकखर्क पुगेर राति त्यहाँ बसेका करिब १०० नेपाली सेना सहितको सुरक्षाकर्मीको टोली आज बिहानै मानापाथी हिमाल आसपासको क्षेत्रतर्फ प्रस्थान गरेका जनाइएको छ ।
पोखराबाट बिहान ९:५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान आइतबार बिहान १०:०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो । हराएको जहाजमा चालक दलका तीन जना र १९ जना यात्रु रहेका जनाइएको छ ।