- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । दुर्घटनाग्रस्त भेटिएको तारा एयरको विमानमा आगलागी नभएको स्थानीयले बताएका छन् । दुर्घटनास्थल मुस्ताङको थासाङ २ मा पुगेका स्थानीयले सो जानकारी दिएका हुन् । मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा भेटिएको छ ।
दुर्घटनामा परेका व्यक्तिहरूको शव चिनिने अवस्थामा रहेको बताइएको छ । ठाउँ अफ्ट्यारो रहेका कारण छरिएर रहेका शव सङ्कलनमा कठिनाइ रहेको छ । स्थानीय, सेना र प्रहरीको टोलीले शव सङ्कलन गरिरहेका छन् ।
आइतबार पोखरादेखि जोमसोमका लागि उक्त विमान उडेको थियो । विमानमा चालक दलका तीनसहित २२ जना सवार रहेका थिए । जसमा चार भारतीय र दुई जर्मन नागरिकसमेत थिए ।
चालक दलमा पाइलट प्रभाकर घिमिरे, को पाइलट उत्सव पोखरेल र एयरहोस्टेज किस्मी थापा रहेका थिए। दुई जर्मन नागरिक वी विलनर र मेइक ग्रिटग्राफ । चार भारतीय नागरिक ऋतिका त्रिपाठी, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी र बान्देकर वैसवी रहेका थिए ।
साथै तेह्र जना नेपाली रहेका थिए । जसमा धनुषाका गोले परिवारका सात जना रहेका छन् । विमानमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेका छन् ।
अन्यमा वसन्त लामा, राजनकुमार गोले, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार रहेका थिए ।
आइतबार विमान १० बजेपछि सम्पर्कविहीन भएको विमान खराब मौसमका कारण उद्धार र खोजबिना समस्या भएको थियो ।
पोखराबाट स्थानीय समयअनुसार बिहान ९:५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १०:७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सो पश्चात् उक्त जहाज सम्पर्कविहीन थियो ।