arrow

मृतकको शव काठमाडौं ल्याइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १६ सोमबार
tara-crash.PNG

काठमाडौं। विमान दुर्घटनामा परेका व्यक्तिको शव सङ्कलनपछि काठमाडौं ल्याइने भएको छ । अहिले स्थानीय, सेना र प्रहरीको टोलीले शव सङ्कलन गरिरहेका छन् । 

कोवाङबाट हेलिकप्टरबाट गएका नेपाली सेना सहित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र शेर्पाको टोली घटनास्थलमा रहेको  जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले जानकारी दिए । 

“पैदल मार्गबाट गएका करिब १०० को सङ्ख्यामा रहेका सुरक्षाकर्मीको टोली पनि घटनास्थल छ”, उनले भने, “पहिलो चरणमा घटनास्थलको सुरक्षा, यात्रुको खोजी र पहिचानमा जुटेका छन् ।” 

यात्रुको अवस्था पहिचान, सुरक्षित रहेका सामान सङ्कलन र मुचुल्का तयार पारेपछि हेलिकप्टरबाट कोवाङ ल्याउने योजना बनाइएको छ । त्यसपछि काठमाडौं पठाउँछौँ ।  मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सेना सहित , फिस्टेल र कैलाश एयरको एक-एक हेलिकप्टर उद्धारमा परिचालन गरिएको बताए । 

चालक दलका तीन जनासहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज क्षतविक्षत अवस्थामा आज बिहान गोठाला र स्थानीयवासीको टोलीले भेटाएका हुन् । 

थासाङ गाउँपालिकाको केन्द्र कोवाङदेखि न्याउरीकोट हुँदै करिब चार घण्टा हिँडेपछि पुगिने मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा भेटिएको छ । कुहिरो लागेको र प्रतिकुल मौसमका कारण आइतबार दिनभर जहाज खोज्ने प्रयास सफल भएको थिएन । 

यार्सागुम्बा सङ्कलन गर्न गएका र गोठालाले नजिकैबाट उडेको जहाज पहाडमा ठोक्किएको आवाज सुनेको खबर गरेका थिए । काठमाडौंबाट सेनाका उद्धारकर्ता आवश्यक सामग्रीसहित हेलिकप्टरबाट आइतबार नै मुस्ताङ पुगेका थिए । 

पोखराबाट बिहान ९:५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान बिहान १०:०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो । स्थानीयका अनुसार कोवाङमाथिको आकाशबाट जहाज जोमसोम नगई पोखरा जान धौलागिरि र मानापाथी हिमालतर्फ मोडिएको जनाइएको छ । 

जहाजमा चालक दलका तीन र १९ जना यात्रु थिए । तारा एयरका अनुसार १२ नेपाली, चार भारतीय र दुई जर्मनी नागरिक थिए ।



नयाँ