arrow

तारा एयर दुर्घटनाः १६ शव संकलन, अन्य शव संकलनमा कठिनाइ, शव पहिचानमा मुस्किल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १६ सोमबार
tara-air-accident-2079.jpg

काठमाडौं । आइतबार बिहान दुर्घटनाग्रस्त तारा एयरमा सवार १६ जनाको शव फेला परे पनि फेला परेका शवको पहिचान हुन सकेको छैन । सुरक्षाकर्मी र स्थानीयहरुको सहयोगमा खोजीकार्य जारी रहेको भए पनि भेटिएका सबैको शवको पहिचान हुन सकेको छैन । 

सबै शव संकलन भएपछि काठमाडौं ल्याएर पोष्टमार्टममार्फत आफन्तलाई जिम्मा लगाउने तयारी भएको छ । आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटिएको थियो । 

चालक दलका तीन सदस्यसहित २२ जना सवार तारा एयरको जहाज आइतबार बिहान १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन बनेको थियो । आइतबार दिनभर  खोजी कार्य गरे पनि खराब मौसमका कारण सोमबार बिहान मात्रै जहाज भेटिएको थियो । 

मुस्ताङका सशस्त्र प्रहरी प्रमुख डीएसपी मोहनजंग कार्कीका अनुसार अहिले दुर्घटनास्थल क्षेत्रमा पानी परिहेकाले संकलन कार्य पनि अवरोध सिर्जना भएको छ । ‘बाक्लो हुस्सु लागेको छ शव संकलनका लागि पुगेको सेनाको हेलिकोप्टरसमेत बस्ने सकेको छैन, अहिले शवहरु संकलन गरेर ’प्याक’ गर्ने काम भइरहेको छ’,डीएसपी कार्कीले भने । 

फेला परेका शवको पहिचान गर्न नसकिने अवस्थामा छन् । संकलन गरिएका शवलाई काठमाडौं ल्याइनेछ । पोस्टमार्टमपश्चात परिवारलाई बुझाइनेछ । मौसम खराबीका कारण उद्धार कार्यमा ढिलाइ भइरहेको पनि डिएसपी कार्कीले बताए । 

आइतबार दिनभर खोजतलास गर्दा पनि दुर्घटनास्थल पत्ता लगाउन सकिएको थिएन । सोमबार  बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय वासिन्दा, एयर डाइनेष्टी, कैशाल हेलिकप्टर र फिस्टेल एयरको हेलिकप्टर तथा उद्धारकर्मीहरूबाट खोजतलास गरिएको थियो । सोही क्रममा फिस्टेल एयरको हेलिकप्टरले सानुसरे भन्ने ठाउँमा १४ हजार ५०० फिटको उचाइमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटाएको थियो । उद्धारकालागि सुरक्षाकर्मी , उद्धारकर्मी तथा स्थानीय वासिन्दाहरुसहित १ हजार भन्दा बढी खटिएका थिए । 

मौसम अनकूल भएमा  हेलिकोप्टर ल्याण्ड भएपछि  शव राखेर काठमाडौं पठाइने डिएसपी कार्कीले बताएका छन् । घटनास्थलमा पुगेको प्रहरीले घटनास्थल मुचल्का तथा डकुमेन्टेसनको काम गरिरहेको भएपनि पानीले अवरोध पुर्याएको छ । 

केही शवहरु चिनिने अवस्थामा नभएको र केही जहाजको इन्जिनमा च्यापिएका कारण निकाल्न कठिनाइ भैरहेको छ । दुघर्टनाग्रस्त जहाजमा १९ जना यात्रु र चालक दलका ३ जना सदस्यसहित २२ जना सवार थिए । उनीहरुमध्ये १६ जनाको शव संकलन भैसकेको छ ।


 



नयाँ