arrow

पतिको दीर्घायुको कामना गर्दै बट सावित्री पर्व 

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७९ जेठ १६ सोमबार
bat-sabitri-parba-barko-puja.jpg

जनकपुरधाम । पतिको दीर्घायुको कामना गर्दै मिथिलाञ्चलसहित मधेसका महिलाहरुले सोमबार बट सावित्री पर्व मनाइरहेका छन् । जनकपुरधामलगायत ग्रामीण क्षेत्रका महिलाहरुले बरको रुखमा रातो पहेँलो धागो बाँधी पतिको दीर्घायुको कामना गर्दै बट सावित्री पर्व मनाइरहेका हुन् ।

सोमबार बिहानैदेखि जनकपुरधाम तथा ग्रामीण भेगमा रहेको बरको रुखमुनि पुजाअर्चना गर्ने नवविवाहिता महिलाहरुको भीड लागेको र बट सावित्री पर्व मनाउँदा मनको इच्छा पूरासँगै पतिको आयु बढ्ने जनविश्वास रहिआएको छ । 

धार्मिक किम्वदन्ती अनुसार बरको रुखमा व्रह्मा, विष्णु र महादेवको वास हुने भएकाले बरको रुखको पूजा गर्ने प्रचलन रहेको हो। पौराणिक मान्यता अनुसार ऋषिपुत्री सावित्रीले आफ्नो पति सत्यवानको प्राण यमराजसँग खोसेर ल्याएको दिनको स्मरण गर्दै विवाहित महिलाहरुले जेठ औंसीको दिन यो पर्व मनाउने गर्दछन् । 

केही वर्षअघिसम्म यो पर्व व्राम्हण, कायस्थ र सुनार जातिका महिलाहरुले मात्र मनाउँदै अएकोमा अहिले अन्य समुदायका महिलाहरु पनि मनाउने गर्दछन् ।

नवविवाहिता महिलाहरुको माइतीबाट यो पर्व मनाउन भार (कोसेली) पठाउने गरिन्छ र त्यसै कोसेलीबाट पूजाआजा गर्ने चलन छ । कोसेलीमा साडी, चोलो, चना, आँप, चुरा, दही बेन (बाँसको पंखा) रातो पहेलो धागो लगायतका सामग्री पठाइन्छ ।

अन्य रुखको तुलनामा बरको रुखको आयु लामो हुने भएको र बरकै रुखमुनि सावित्रीको पति सत्यवानको प्राण फिर्ता गरिएकोले पूजा गर्ने चलन बसेको जानकारहरु बताउँछन् ।



नयाँ