arrow

बजेट ‘हावादारी’ भएको एमालेको निष्कर्ष, भण्डाफोर गर्न ओलीको निर्देशन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १६ सोमबार
kp-sharma-oli-parliament-2079.jpg
तस्बिर– फाइल

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट अनुचित रहेको भन्दै त्यसको भण्डाफोर गर्न निर्देशन दिएका छन् । एमाले संसदीय दलको बैठकमा पूर्व अर्थमन्त्रीहरु विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडाको विचार सुनेपछि आफ्ना सांसदहरुलाई सो निर्देशन दिएका हुन् । 

एमाले अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रममा करिब तीन घण्टा आफैँले बोलेर सांसदहरुलाई बोल्ने सामग्री नै दिएका थिएनन् । तर बजेटमाथि भने सबै सांसदलाई प्रतिरक्षा गर्न निर्देशन दिएका छन् । संसदीय दलका नेता ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको टिप्पणी गर्दै सो निर्देशन दिएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए । 

साथै त्यसलाई जनताको बीचमा भण्डाफोर गरेर लैजान पार्टीका सांसदहरुलाई नेता ओलीले निर्देशन दिएको पनि सचेतक भट्टराई भने । सरकारले बजेट ल्याएपछि प्रमुख प्रतिपक्ष दलका नेताहरुले त्यसको विरोध गर्दै आएका छन् । 

आगामी आर्थिक वर्ष २०७९–०८० को बजेट भाषणपछि पनि शेयर बजारमापक नेप्सेमा उच्च अंकले गिरावट आएको भन्दै ओलीले बजेटले अर्थतन्त्रलाई धरासायी बनाउनेसमेत बताएका थिए ।  

बजेटपछि तथा साताको पहिलो कारोबार सोमबार नेप्से परिसूचक ४५.०९ अंकले घटेर २१७८.६९ बिन्दुमा झरेको थियो । बैठकमा नेप्सेको विषय पनि उठेकाले ओली सो कुरा बताएको एक सांसदले भने । 

संसदीय दलको बैठकमा ओलीले बजेट अनुचित, बिना सिद्धान्त र प्राथमिकताको आधारमा आएको भन्दै त्यसको भण्डाफोर हुने गरी जनताको बीचमा लैजान पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन् । 

प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बजेट अनुचित ढंगले, बिना सिद्धान्त र प्राथमिकताका आधारमा आएकाले त्यसको भण्डाफोर गरेर अघि बढ्न पार्टीका अध्यक्ष ओलीले निर्देशन दिएका हुन् । 

‘अध्यक्षले बजेट अनुचित ढंगले आएको, सिद्धान्तहीन र प्राथमिकताविहीन ढंगले आएकाले त्यसलाई भण्डाफोर गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनु भएको छ,’ प्रमुख सचेतक भट्टराईले भने ।

बैठकले सरकारले ल्याएको बजेट चुनावमा भोट माग्ने किसिमले मात्रै आएको, मुलुकको अर्थतन्त्रको यथार्थलाई सम्बोधन गर्न नचाहेको र ‘हावादारी’ रहेको निष्कर्षसमेत एमालेले निकालेको छ । 

बैठकमा अध्यक्ष ओली, पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे, युवराज खतिवडाले बजेटबारे सांसदहरुलाई प्रशिक्षण पनि दिएको ती सांसदहरुको दाबी छ । 

त्यसैगरी पार्टी निकट बौद्धिक व्यक्तित्वहरु राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पुष्पराज कँडेल, योजना आयोगका पूर्वसदस्य दिनेशचन्द्र देवकोटाले पनि बजेटबारे सांसदलाई प्रशिक्षण दिएका थिए । 

सोमबार मात्रै अर्थमन्त्री जनार्दन शर्माले गरिबीलाई घटाउन प्रतिवर्ष ८ लाख गरिबीको रेखामुनि रहेकोलाई बाहिर ल्याउने योजना बनाएको बताएका थिए । ‘यसका लागि मानव पुँजीको आवश्यकता पर्छ, हामीले पहिलो पटक भनेका छौं, १२ कक्षा पढेर सकिँदा सीपसहितका जनशक्ति बाहिर आउँछन् र सबै शिक्षित व्यक्ति श्रम बजारका लागि योग्य हुन्छन्। तब मात्रै सहज जीवनयापन गर्न सक्छन्। समग्रमा यसपटकको बजेटले शिक्षामा ठूलो परिवर्तन गर्छ भन्ने मैले विस्वास लिएको छु’, शर्माले भनेका थिए । 

तर ओलीले यसको विरोधमा आफ्ना सांसदहरुलाई प्रतिवाद गर्न निर्देशन दिइसकेका छन् । एमाले सांसदहरुले चुनाव केन्द्रीत बजेट ल्याएको भन्दै आलोचना गरेका थिए । 

अर्थमन्त्री शर्माले भने बजेट पुरानै ढाँचाको र केहीमात्र परिमार्जन गरिएको बताएका छन् । उनले सोमबार संचारकर्मीहरुसँग बजेट कार्यान्वयन हुन्न कि भन्ने आशंका नगर्न पनि आग्रह गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ