arrow

जहाज दुर्घटनामा परेका थप १२ जनाको शव काठमाडौं ल्याइयो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १७ मंगलबार
tara-crash.PNG

काठमाडौं । जहाज दुर्घटनामा परेर मृत्यु भएका थप १२ जनाको शव काठमाडौं ल्याइएको छ । नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टरबाट मृतकको शव काठमाडौं ल्याइएको हो । प्रतिकूल मौसमका कारण आइतबार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका २ सानोसरेमा तारा एयरको विमान दुर्घटनामा परेको थियो ।

 आज ल्याइएका १२ जनासँगै दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौं ल्याइएको छ । मृतक १० जनाको हिजो र बाँकी रहेका १२ जनाको शव अहिले नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टरबाट काठमाडौं ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए । 

उनका अनुसार काठमाडौं ल्याएका शवहरू त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । २२ वटै शवहरूलाई त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

जहाजमा चालक दलका तीन जना क्याप्टेन प्रभाकर घिमिरे सहचालक उत्सव पोख्रेल, परिचालिका किस्मि थापासहित नेपाली नागरिक इन्द्रबहादुर गोले, पुरुसोत्म गोले, राजनकुमार गोले, वसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकमाया तामाङ, तुलसादेबी तामाङ रहेका थिए ।

यस्तै जहाजमा भारतीय नागरिकमा भाइ भाइ बन्देकर, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी, रीतिका त्रिपाठी रहेका थिए । साथै जर्मन नागरिकमा मेकग्रीफ्ट ग्राफ तथा वइ वइल्नर सवार रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

समुन्द्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको घटनास्थलमा अझैपनि कुहिरो लागेको बताइएको छ । आइतबार मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्रा टुक्रा परेको अवस्थामा सोमबार बिहान फेलापरेको थियो । पोखराबाट आइतबार बिहान ९:५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त विमान बिहान १०:०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो । 

विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोग समेत गठन गरेको छ । मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष रहेको पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको हो । 

आयोगको सदस्यहरूमा क्याप्टेन दीपै ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।



नयाँ