- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । स्थानीय तहको निर्वाचनपछि निकै उत्साही भएको नेकपा माओवादी केन्द्रले आफ्ना जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिइरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिइरहेका हुन् ।
नेपाली कांग्रेससँगको गठबन्धनले एक सय २१ स्थानमा जित हासिल गरेको माओवादी केन्द्रले जनप्रतिनिधिहरुलाई स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माणलगायत विषयमा प्रशिक्षण दिइरहेको हो ।
प्रचण्ड लगायतका शीर्ष नेता एवं संघीयताविद्, अर्थतन्त्र विज्ञ, पूर्वमहान्याधिवक्ता, स्थानीय सरकार सञ्चालनका विज्ञ, पूर्वप्रशासकलगायतले विभिन्न विषयमा सहभागीलाई बुधबार र बिहीबार प्रशिक्षण दिने छन् ।
अघिल्लो कार्यकालमा उत्कृष्ट काम गरेका स्थानीय तहका प्रमुखले पनि अनुभव आदानप्रदान गर्ने कार्यक्रम राखिएको छ । तर यो विषयलाई माओवादी पार्टीले गोप्य राखेको छ ।
कमलपोखरीस्थित पुरानो कुमारी हलमा भइरहेको प्रशिक्षणको बिहान अध्यक्ष प्रचण्डले उद्घाटन गरेका छन् । देशभरबाट निर्वाचित जनप्रतिनिधिहरु कुमारी हलमा भेला भएका छन् ।
प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, केही स्वन्तत्र रूपमा निर्वाचित उम्मेदवार गरी २६० जनप्रतिनिधि र पार्टीका शीर्ष नेता एवं पूर्वस्थायी समिति सदस्य सहभागी छन् ।
उद्दघाटन सत्रमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले वर्तमान राजनीतिक परिस्थिति गठबन्धनको अवस्था र आगामी संघीय संसदको निर्वाचनबारे जानकारी दिएका छन् ।
स्रोतका अनुसार ‘स्थानीय सरकारको कानूनी क्षेत्राधिकार, काम, कर्तव्य र अधिकार’ विषयमा पूर्वमहान्याधिवक्ता मुक्ति प्रधानले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
‘स्थानीय तहमा स्वास्थ्य र शिक्षा’ विषयमा पार्टी स्कुल विभाग प्रमुख एवं पूर्वमन्त्री गिरिराजमणि पोखरेल, ‘संघीयता र स्थानीय सरकार’ विषयमा स्थानीय तहका विज्ञ डा खिमलाल देवकोटा, ‘स्थानीय तह र सामाजिक न्याय’ विषयमा पार्टीको स्थानीय तह विभागका प्रमुख उर्मिला अर्याल र ‘स्थानीय सरकार र सुशासन’ विषयमा पूर्वमुख्यसचिव लीलामणि पौड्यालले प्रशिक्षण दिने कार्यक्रम छ ।
बिहीबार अर्थमन्त्री जनार्दन शर्माले ‘आर्थिक वर्ष २०७९–०८० को सरकारको नीति तथा कार्यक्रम र बजेट’, राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले ‘स्थानीय तहको नीति, योजना र कार्यक्रम’, पूर्वमन्त्री एवं पार्टीको श्रम, अर्थ तथा योजना विभागका प्रमुख वर्षमान पुनले ‘स्थानीय अर्थतन्त्रको निर्माण र नेपाली विशेषताको समाजवाद’, चार्टर्ड एकाउन्टेन्ट चन्द्रकान्त भण्डारीले ‘स्थानीय तहको लेखा प्रणाली’बारे प्रशिक्षण दिने छन् ।
यो प्रशिक्षणले स्थानीय तहमा कस्तो सन्देश लिएर जनप्रतिनिधिहरु जालान् भन्ने चासो बढेको छ । स्थानीय तहको निर्वाचनपछि अब प्रदेश र संघको चुनाव हुनुपर्ने भएकाले जनप्रतिनिधिहरुले महत्वपूर्ण भूमिका खेल्नेछन् ।
बजेटलेसमेत मतदाताको मन जित्नुपर्ने भएकाले पनि जनप्रतिनिधिहरुलाई प्रदेश र संघ जित्ने गरी प्रचण्डले सहितका राजनीतिक विज्ञहरुले ‘गुरुमन्त्र’ दिने विश्वास गरिएको छ ।