arrow
ADVERTISEMENT

एमालेभित्रका ‘लालगद्दार’ को खोजी हुँदै, अन्तर्घातको अध्ययन गर्न कार्यदल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १९ बिहिबार
uml-flag.png

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा आन्तरिक घात भएको भन्दै त्यसको अध्ययन गर्न उपमहासचिव विष्णु रिमालको संयोजकत्वमा एउटा कार्यदल बनाएका छन् । 

केही दिनअघि ओलीले अन्तर्घाती ‘लालगद्दार’ नेताहरुको विवरण उतार्न र देशभर कहाँ कसरी अन्तर्घात गरिएको थियो त्यसको सबै विवरण लिन उपमहासचिव रिमालको संयोजकत्वमा कार्यदल बनाएका हुन् । बाहिरबाट भन्दा पनि आफ्नैबाट पार्टीलाई घात भएको भन्दै त्यस्ता ‘लालगद्दार’ सो कार्यदल बनाएको एमाले स्रोतले जनाएको छ । 

ओली आफैँले पनि बिहीबार निर्वाचनको समीक्षा गर्दै जनताको माया पाएको पार्टीलाई आफ्नै नेताबाट जोगाउन गाह्रो परेको टिप्पणी गरेका थिए । जनसंगठन समन्वय संयन्त्रको बैठकलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले विभिन्न ठाउँमा पार्टीका जिम्मेवार नेता कार्यकर्ताकै अन्तर्घातका कारण प्रमुख र वडाध्यक्ष हार्ने अरु पद जित्ने जस्तो अवस्था पनि देखिएको बताउँदै सो टिप्पणी गरेको प्रचार विभागका उपप्रमुख विष्णु रिमालले जनाएका छन् ।

‘जनताले नेकपा एमालेलाई माया गरेका छन् र लोकप्रिय पहिलो मत दिएका छन् । हामी जनताप्रति आभारी छौं । तर समस्या हामीभित्रै देखिएको छ । आफ्नै पार्टीभित्र एउटाले अर्कालाई हराउन खोज्दा दुवैले हार्ने स्थिति बन्यो । नेताहरूबीच मेल भएन, टीम स्पिरिट भएन । यथार्थमा पार्टीलाई आफ्नै नेताहरूबाट कसरी बचाउने भन्ने चुनौती थपिएको छ,’ ओलीले भनेका थिए ।

पोखरालगायत देशभरका विभिन्न पालिकामा ६ वटा छाप सूर्यमा हानेर एउटा विपक्षीलाई दिनेदेखि वडा सदस्यहरु सूर्यमा हानेर वडाध्यक्षलाई मत नदिने अवस्था देखिएको ओलीले बताए  । 

अन्तर्घातको विवरण देशभरबाट आफूले लिइरहेको ओलीले बताएका छन् । एमालेले अहिलेसम्म आन्तरिक समीक्षा गरिसकेको छैन । पार्टीको सचिवालय बैठकसमेत नबसी ओलीले एकल ढंगले कार्यदल बनाएको विषयमा भने कहीँ कतै बताइएको छैन । 

ओलीले बिहीबार पनि त्यसबारे केही बताएनन् । रिमाल नेतृत्वको कार्यदलले कहाँ कहाँ अन्तर्घात भएको हो भन्ने बारेमा जानकारी लिइरहेको तथा देशभर कति मत आएको छ भन्ने बारेमा टिपोट गरिरहेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार रिमालले यतिबेला एमालेको पक्षमा खसेको मतको पनि विष्लेषण गरिहेका छन् । उनको टिममा रहेका नेताहरुले खसेको मतमा एमालेको पक्षमा आएको र अरु दलको पक्षमा आएको विवरण पनि लिइरहेका छन् । 

साथै उम्मेदवार उठाउँदा ध्यान पुगेको हो कि होइन भन्ने बारेमा पनि विष्लेषण गरिरहेको स्रोतले जनाएको छ । 

ओलीले उम्मेदवार बनाउँदा सकेसम्म हस्तक्षेप गरेको र चुनाव जित्नेलाई भन्दा पनि आफ्नालाई दिएको आरोप लाग्दै आएको छ । त्यस्तै दश बुँदे पक्षधरहरुलाई बेवास्ता गरेर ओली एकलौटी ढंगले अगाडि बढेका कारण पनि अन्तर्घात भएको बताइन्छ । 

तर आफूले भनेको बाहेक अरुका कुरा नसुन्ने बानी परेका ओलीकै कारण पार्टीभित्र लालगद्दार बढेको एमालेका एक पाका नेताले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ