arrow

मनसुन देशभर फैलिन केही दिन लाग्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २३ सोमबार
monsoon-7591.jpg.jpeg

काठमाडौं । मनसुन देशभर फैलिन केही दिन लाग्ने भएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सो समयभन्दा एक साता आगागी अर्थात जुन ५ मै प्रवेश गरेको छ । 

आइतबार नेपालको प्रदेश नं १ मा आगमन भएको यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भू-भागमा प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालका अन्य भू-भागमा मनसुन फैलिन केही दिन लाग्ने विभागको अनुमान छ । 

हाल नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाका साथै पूर्वी नेपालमा मनसुनी वायुको समेत सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन प्रणाली आजका दिन नेपालको प्रदेश नं १ मा आगमन भई प्रदेश नं १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।

दिउँसो प्रदेश नं १, मधेश प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली भई प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव दुई डिग्री र अधिकतम तापक्रम २८ दशमलव तीन डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १३ दशमलव सात डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ४१ दशमलव चार डिग्री सेल्सियस रहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ