arrow

सरकारले ध्यान दिए सात अर्बको अलैंची २५ अर्बसम्म निर्यात हुन सक्छ – योगेश भट्टराई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २५ बुधबार
yogesh-bhattarai-2079-02-25.jpg

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारले ध्यान दिने हो भने कृषिको सबैभन्दा धेरै निर्यात हुने बस्तु अलैंची वार्षिक २५ अर्बसम्म हुन सक्ने बताएका छन् । 

उनले प्रतिनिधि सभा बैठकमा बोल्दै अलैंची खेतीको प्रवद्र्धनका लागि जोड दिएका हुन् । उनले आफू अलैंची उत्पादन हुने जिल्लाको सांसद भएको चर्चा गर्दै यसको उत्पादन र निर्यातमा जोड दिएका हुन् । 

सांसद भट्टराईले भने, ‘हाम्रो कृषिजन्य उत्पादनमध्ये विदेशमा निर्यात हुने एउटा महत्वपूर्ण बस्तु अलैंची हो सभामुख महोदय । म अलैंची उत्पादन हुने जिल्लाको जनप्रतिनिधि पनि हुँ । जहाँ नेपालको कूल अलैंची उत्पादनको ५० प्रतिशत उत्पादन ताप्लेजुङ जिल्लामा मात्र हुन्छ । अधिकांश पूर्वी क्षेत्रमा उत्पादन हुन्छ । आज ४२ वटा अन्य जिल्लामा पनि अलैंची उत्पादन विस्तार भएको छ ।’

उनले सरकारले अलैंचीलाई वास्ता नगरेकोतर्फ ध्यानाकर्षण गराउँदै भने, ‘तर सरकारले यो अलैंचीलाई विदेशी बजारमा लाने सुनिश्चितता गरेको छैन । आज पनि भारतको एकाधिकार यसमा छ । आज पनि बंगलादेशले नेपाली अलैंचीमाथि ३५ प्रतिशत ट्याक्स लगाइराखेको छ जबकि भुटानमाथि उसको जिरो प्रतिशत छ । यस विषयमा सरकारले बंगलादेश सरकारसँग कुनै कुटनैतिक पहलकदमी गरेको छैन ।’

अलैंचीका विज्ञहरुसमेत नभएको गुनासो गर्दै उनले तीतो दृष्टान्त सुनाउँदै भने, ‘अलैंचीमा रोग लागेको छ सरकारले विज्ञ पठाउँछ धानको । अलैंचीमा रोग लाग्या छ सरकारले विज्ञ पठाउँछ तपाईको सुपारीको । विज्ञ पनि छैनन् । त्यसैले म भन्न चाहन्छु । काँकडभिट्टाबाट बढी निकासी हुन्छ । तर काँकडभिट्टामा क्वारेन्टाइन छैन । कहाँ जान्छ कलकत्तामा क्वारेन्टाइन गर्न जान्छ । त्यसकारण म सभामुख महोदयमार्फत भन्न चाहन्छु कोल्डस्टोरहरु बनाउनु पर्दछ । र काँकडभिट्टामा क्वारेन्टाइनहरु स्थापना गर्नुपर्छ ।’

उनले सरकारलाई बजारको पहुँच विस्तार गर्नको निम्ति ध्यानाकर्षण गराउँदै भने, ‘अहिले झण्डै सात अर्बको अलैंची निकासी भइरहेको अवस्थामा यदि सरकारले ध्यान दिने हो भने झण्डै यो २० देखि २५ अर्बको अलैंची नेपालबाट निकासी हुन सक्छ । र यसको बजार मूख्यतया खाडी मुलुकहरु हुन् । अन्य विभिन्न मुलुकहरु हुन् । ती मुलुकसम्म बजारको पहुँच विस्तार गर्नको निम्ति म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

र, यी पनि 



नयाँ