arrow

मनसुनी वायुको असर, काठमाडौंमा वर्षा, ठाउँठाउँमा सडकखण्ड अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २६ बिहिबार
weather-kathmandu-raining.jpg

काठमाडौं । नेपालमा मनसुनी वायु देशभर फैलन थालेको छ । जसकारण वर्षा पनि भइरहेको छ । बिहान प्रदेश १ र मधेसका थोरै स्थान तथा बागमती र गण्डकीका एक–दुई स्थानमा वर्षा भइरहेको छ ।

काठमाडौं उपत्यकाको मौसम पनि सफा हुन सकेको छैन । राति वर्षा भएकामा अहिले पनि वर्षा भइरहेको छ । दिनभर नै मौसम नखुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो ताप्लेजुङपछि काठमाडौंमै बढी वर्षा भएको थियो । 

वर्षाकै ठाउँठाउँमा सडकखण्ड अवरुद्ध भएका छन् । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । खुलाउने प्रयास भए पनि वर्षाका कारण फेरि पहिरो गएको छ । मुग्लिन–नौबीसे सडकखण्ड पनि अवरुद्ध भएको छ । 

पहाडी साना सडकखण्डहरुमा पनि असर परेको छ । 

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही प्रदेश १ , मधेश प्रदेश,  बागमती प्रदेश, गण्डकी प्रदेशका केही  स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । 

दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकीका केही तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना छ । शुक्रबार प्रदेश १ , बागमती र गण्डकीका केही स्थान तथा मधेस प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ ।

हाल नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव छ भने मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।



नयाँ