arrow

जसपामा फेरि विवाद चर्कियो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २८ शनिबार
upendra-baburam.JPG

काठमाडौं । जनता समाजवादी पार्टी जसपामा दुई जना अध्यक्ष राख्नु पर्ने विषयमा शुरु भएको विवाद फेरि चर्किएको छ । यो विवाद चुनाव अघि चर्किएको थियो । चुनाव सकिए लगत्तै असार १ र २ गते विधान अधिवेशन बोलाउने र विधान अधिवेशनबाट विधान संशोधन गर्ने अथवा दुई जना अध्यक्ष राख्ने भनी सहमति भएपछि यो विवाद केही समयको लागि मत्थर भएको थियो । 

तर पार्टी अध्यक्ष उपेन्द्र यादव असार १ र २ गते विधान अधिवेशन बोलाउन तयार भएनन् । यादव तयार नभएपछि यसमा उनलाई वाध्य पार्न अर्का अध्यक्ष डा. बाबुराम भट्टराई निकट नेताहरू अहिले सक्रिय भएर लागेका छन् । पार्टीको विधान अनुसार २ जना अध्यक्ष राख्नै पर्ने उनीहको अडान छ । तर अध्यक्ष यादव पार्टीमा २ जना अध्यक्ष राख्न तयार छैनन् ।

गत साल भदौमा महन्थ ठाकुरले जसपा छाडेर लोकतान्त्रिक समाजवादी पार्टी लोसपा गठन गरेपछि उनले ओगटेको अध्यक्ष पद खाली छ । खाली भएको पहिलो अध्यक्षमा डा. बाबुराम भट्टराईलाई राख्नुपर्ने र अशोक राईलाई संघीय परिषद्को अध्यक्ष बनाउनु पर्ने माग उनीहरूको छ । 

भट्टराईलाई कार्यकारिणी समितिका अध्यक्ष नबनाए राईलाई अध्यक्ष बनाउन सक्ने तर पार्टीमा दुई जना अध्यक्ष हुनुपर्ने भट्टराई पक्षधर नेताहरूको भनाइ छ । यो विषय विधान अविधेशनमा उठ्ने भएपछि अध्यक्ष यादव तत्काल विधान अविधेशन बोलाउन तयार भएका छैनन् । 

गत फागुनमा बसेको केन्द्रीय समितिको बैठकले असार १ र २ गते विधान अविधेशन बोलाउने निर्णय गरेको थियो । कार्यकारिणी सदस्य प्रशान्त सिंहले पार्टीले गरेको निर्णय अनुसार तोकिएको मितिमा विधान अधिवेशन बोलाउनु पर्ने बताए । तर यादव निकट नेताहरु असार १ र २ मा विधान अविधेशन बोलाउन सम्भव नहुने बताउँछन् । भर्खरै चुनाव सकिएको र आर्थिक स्थितिको कारण पनि तत्काल विधान अधिवेशन बोलाउन सकिने अवस्था नभएको उनीहरूको भनाइ छ । 

जसपा अहिले दुई कित्तामा बाँडिएको छ  । भट्टराई र राई निकटका नेताहरु एक ठाउँमा छन् भने यादव निकट नेताहरु अर्को कित्तामा उभिएका छन् । दुई कित्ताको यो लडाइमा भट्टराई–राई पक्ष बहमुतमा रहेको बताइन्छ । 

आफू बहुमतमा भएको बेला आफ्नो एजेण्डामा ल्याउन यादवलाई वाध्य पार्ने भट्टराई पक्षधर नेताहरूको तयारी छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ