arrow

एमाले सचिवालय बैठकमा चुनावबारे रिभ्यु र प्रिभ्यु, के होला घनश्यामको कारबाही ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३० सोमबार
CPN-UML-Flag.jpeg

काठमाडौं । स्थानीय तहको निर्वाचनपछि पहिलो पटक नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । स्थानीय तहको निर्वाचनमा धेरै स्थानमा पराजय भोगेको एमालेले सकिएको निर्वाचन र आउँदो निर्वाचन दुवै विषयमा छलफल केन्द्रीत गर्ने भएको हो । 

आज तय भएको सचिवालय बैठकका लागि केन्द्रीय कार्यालय बैठकले चार वटा एजेण्डा तय गरेको छ । तर स्थायी कमिटी सदस्य घनश्याम भुषाललाई कारबाही गर्ने वा स्पष्टीकरण सोध्ने एजेण्डा भने तय भएको छैन । 

सचिवालय बैठक दिउँसो १ बस्ने कार्यक्रम रहेको छ । केन्द्रीय कार्यालय बैठकले जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने, विभागहरूलाई पूर्णता दिने र समसामयिक विषयमा छलफल गर्ने गरी एजेन्डा तय गरेको हो । 

साथै एमाले उपमहासचिव विष्णु रिमालको संयोजकत्वमा तयार भएको चुनावी समीक्षा रिपोर्ट बैठकमा पेस गरिने कार्यक्रम रहेको छ । आइतबारको केन्द्रीय कार्यालय बैठकमा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुषाललाई स्पष्टीकरण सोध्न अनुशासन आयोगले गरेको सिफारिसबारे भने छलफल भएको थिएन र त्यो एजेण्डा पनि बनाइएको छैन । 

स्थानीय तहमा एमाले हार्नुका कारणलाई लिएर पार्टी अध्यक्ष केपी शर्मा ओलीले जिम्मेवारी लिनुपर्ने र वाम गठबन्धन हुनुपर्ने धारणा राखेका भुषाललाई अनुशासन आयोगले कारबाहीको सिफारिस गरेको थियो । 

भुषाललाई कारबाहीको सिफारिस गरेपछि एमालेभित्र ठूलै हलचल पैदा भएको थियो । भुषालले एक टेलिभिजन अन्तर्वार्तामा अध्यक्ष ओलीको प्रयोग शतप्रतिशत असफल भएको बताएका थिए ।

‘नेकपा एमाले भनेको ओली, ओली भनेको नेकपा एमाले दुवै असफल भएका हुन् समग्रतामा । नेतृत्वले अझ बर्बाद पार्न खोजेको थियो तर जनताले इतिहासको हाम्रो मूल्यांकन गरे,’ पार्टीको पराजयमा ओलीको नेतृत्व असफल भएको दाबी गर्दै भुषालले भनेका थिए, ‘आज हामीले जुन मत प्राप्त गरेका छौँ, त्यो पार्टी चलाउने, चुनाव चलाउने शैलीको भोट होइन । एमालेले इतिहासमा गरेको, लडेको, कार्यकर्ताले रगत–पसिना बगाएर गरेको योगदानको मत हो ।’  

अहिलेकै शैलीमा अध्यक्ष ओलीले पार्टी सञ्चालन गरे एमाले समाप्त हुन सक्ने चेतावनीसमेत नेता भुषालले दिएका थिए । ‘यही तरिका हो भने हामी भिरको नजिक–नजिक जाँदैछौँ । हामी एउटा कान्लाबाट खस्यौँ, धेरै कान्लाबाट खसेर भिरको नजिक पुगेका छौँ,’ उनको भनाइ थियो । 

पार्टीलाई सामूहिक नेतृत्व प्रणालीबाट चलाउनुपर्नेमा एकाधिकारवादबाट चलाउन खोज्दा अध्यक्ष ओलीको प्रयोग शतप्रतिशत असफल भएको भुषालको दाबी थियो ।

‘म सौराहा काण्ड भन्छु । जुन परम्पराबाट एमाले बनेको थियो त्यसविपरीत गएर एक जनालाई सर्वाधिकार दिने, उसले लिस्ट पढ्ने, त्यसलाई सबैले मान्नुपर्ने, त्यसलाई महाधिवेशन भन्नुपर्ने, सार्वभौमसत्तासम्पन्न प्रतिनिधि भन्नुपर्ने, चुनावको नाटक मञ्चन हुने अनि त्यसमा अन्तिममा फलानो–फलानोलाई भोट नदेऊ भनेर अध्यक्षले लिस्ट जारी गर्ने । जिल्ला अधिवेशनहरू पनि जसरी भए, उम्मेदवार जसरी तय भए यी सबै घटनालाई हेर्दा संक्षेपमा के भन्छु भने कमरेड ओलीको प्रयोग असफल भयो भन्ने कुरा अब हन्ड्रेड पर्सेन्ट (शतप्रतिशत) देखिएको छ,’ अन्तर्वार्तामा नेता भुषालले भनेका थिए । 

यही विषयलाई लिएर अनुशासन आयोगले कारबाहीको सिफारिस गरेको थियो । स्रोतका अनुसार आजको बैठकमा स्थानीय तहको निर्वाचनको रिभ्यु र आगामी चुनावको प्रिभ्युको बारेमा गम्भीर छलफल हुने बताइएको छ । 

यसअनुसार अहिलेदेखि नै एमालेले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको प्रिभ्यु थाल्नेछ । 



नयाँ